विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिकामा शुक्रबार थप १० जनामा कोरोना पोजेटिभ देखिएको छ ।
शुक्रबार थप ४ महिला र ६ पुरुषसहित १० जना कोरोना संक्रमण देखिएको महानगरपालिकाले जनाएको छ । योसँगै महानगरभित्रका कोरोना संक्रमितको संख्या १०७ पुगेको छ ।
कोरोना पोजेटिभ देखिएकामध्ये ४ जना कोसी अस्पतालमा परीक्षण गराएका हुन् भने अन्य ६ जना महानगरकै विभिन्न वडाबाट महानगरले स्वाब संकलन गरेकाहरु हुन् । संक्रमितहरुमा तीन जना कोशी अस्पतालका कर्मचारी छन् ।
विराटनगर–५ का एक महिला र एक पुरुष, विराटनगर–२ का एक महिला र एक पुरुष, विराटनगर–११ का १ महिला र १ पुरुष, विराटनगर–६ का एक पुरुष, विराटनगर १७ का एक पुरुष, विराटनगर १२ का एक पुरुष र वडा नखुलेका अर्का पुरुषमा संक्रमण देखिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । प्रयोगशालाहरुबाट रिपोर्ट आउने क्रम नसकिएकोले संक्रमितको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।
संक्रमितमध्ये कोशी अस्पतालमा कार्यरत तीन जना कर्मचारी रहेको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिनुभयो ।