कविता

मेरो गोल्डस्टार र तिम्रो पूँजीवाद

जलजला हिमालको प्यारो काखमा बसी प्रकृतिरुपि बस्त्र धारण गरेर गोल्डस्टार जुत्ता प्याट–प्याट पड्काउँदै हिंड्दा गर्वले छाती फुलाउँदै तिमी भन्थ्यौं, ‘कमरेड म पूँजीवाद ढाल्न हिंडेको मान्छे’

गर्वले फूलेको छातीमा बन्दुकको तातो गोली छेक्दै गर्दा ढलेको योद्धालाई रातो बस्त्र ओडाउने क्रममा फेरी तिमी भन्थ्यौं, ‘कमरेड म पूँजीवाद ढाल्न हिंडेको मान्छे’

जलजलाको बसाईलाई भत्काउँदै, प्रकृतिरुपि बस्त्रलाई भुइँमा राख्दै प्याट–प्याट पड्काउने गोल्डस्टार जुत्तालाई फ्याँक्दै कालो कोट र कालो जुत्तामा बहुरुपी सहरमा पस्दै गर्दा पनि तिमी भन्दै थियौ, ‘कमरेड म पूँजीवाद ढाल्न हिंडेको मान्छे’

तिमिले फालेको प्रकृतिरुपि हरिया बस्त्र र गोल्डस्टार जुत्ता पड्काउँदै आज म तिम्रो सहर पसेको छु ठाडो शिर गरेर तिम्रा गगनचुम्बी दरवारलाई नियाली राखेको छु । हो तिमिले साँच्चै नि पूँजीवाद ढालेका रहेछौ, पुरस्कारको रुपमा सिंहदरबार थापेका रहेछौ तर म गोल्डस्टार ड्याम–ड्याम पड्काउँदै गर्जनका साथ सोध्दै छु, ‘कमरेड काहाँ ढाल्यौ पूँजीवाद ?’

शुक्रबार, १६ साउन, २०७७, दिउँसोको ०१:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर