विराटनगर । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ ।
पर्साको विरगञ्जमा बुधबार थप दुई जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
पर्सामा मात्रै कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।
७१ वर्षका पुरुष पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा पुगेका थिए । उनको मिर्गौलामा समेत समस्या देखिएको थियो ।
उनको साउन ११ गते आइतबार नै परिवारले शुल्क तिरेर पीसीआर विधिबाट कोरोना परीक्षण गराएका थिए । वृद्धको उपचारकै क्रममा मृत्यु भएको नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डा. असरफ हुसैनले जानकारी दिनुभयो ।
अर्का मृतक ६८ बर्षीय पुरुष भने मुटु र निमोनियाका बिरामी रहेको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डा.उदयनारायण सिंहले जानकारी दिनुभयो । एडभान्स अस्पतालमा उपचारको क्रममा साउन ७ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भोलिपल्ट कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो ।


