रतुवामाई नगरपालिकाको छैठौं नगरसभा

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाको छैठौं नगरसभा शनिबारदेखि सुरु भएको छ । रतुवामाई नगरपालिका ६ सौंठा स्थित बुधबारे बजारमा शनिबार बृहत भेला आयोजना गर्दै आफ्नो छैठौँ नगरसभा शुभारम्भ गरेको हो ।

नगरसभाको मोरङ क्षेत्र नं. २ (क) का प्रदेशसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति शिवनारायण सिंह (गन्गाई) ले उद्घाटन गर्नुभयो । सभापति गन्गाईले भ्रष्टाचार विरुद्ध प्रदेश सरकारले शुन्य सहनताको नीति अपनाउने घोषणा गरेकाले नगरपालिकाका जनप्रतिनिधिले सोही अनुरुप काम गर्नुपर्ने निर्देशन दिनुभयो ।

प्रदेश सरकारका मन्त्री वा पालिकाका जनप्रतिनिधिलाई भ्रष्टाचारलगायतका गलत कार्यमा कुनैपनि छुट नहुने गनगाईंको भनाइ छ । गन्गाईले रतुवामाई नगरपालिका अन्तर्गत पर्ने बक्राह र रतुवा नदीले वर्षेनी हजारौं जनता विस्थापित हुँदै आउनुपरेकाले तटबन्ध र दिर्घकालिन समस्या समाधानका लागि पहल थालिएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले संविधानले स्थानीय तहमा सत्तापक्ष र विपक्षको कल्पना नगरेकाले नगरको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । मदन भण्डारी र जिपि मार्ग निर्माण प्रतिष्ठाको विषय भएकाले हाल निर्माणमा भइरहेको ढिलाई अन्त्य गर्नुपर्नेमा उहाँको जोड थियो ।

रतुवामाई नगरपालिकाका मेयर रविन राईले आफूहरु निर्वाचित भएर आएपछि सुरुमा विभिन्न कानूनी र व्यवहारिक कठिनाई आईपरे पनि हाल नगरको चौतर्फी विकास र समृद्धिमा लागिपरेको बताउनुभयो । संघीयतामा गएपछिको पहिलो अभ्यासका क्रममा निर्बाचित भएर आउँदा कठिन भएपनि अहिले सबैको सहकार्यमा काम सहज भएको बताउनुभयो । नगरमा चक्रपथका अवधारणा बनाएर सर्वसुलभ र सहजरुपमा नगरबस सञ्चालनको योजनसमेत चालु नगरसभाले अघि बढाउने उहाँले जानकारी दिनुभयो ।

मेयर राइले चालु आर्थिक वर्षको माघ मसान्त सम्ममा नगरपालिकाको वित्तिय प्रगति ४५ प्रतिशत रहेको जानकारी दिँदै आर्थिक वर्षको अन्त्य सम्ममा शतप्रतिशत हुने दावी गर्नुभयो । नगरसभामा उपमेयर दयन्तादेवी चुडालले नगर कार्यपालिकाको तर्फबाट समिक्षात्मक नीतिगत प्रस्ताव पेश गर्नुभएको थियो ।

नगरसभामा नगरपालिकाको कार्य सम्पादनमा आवश्यक पर्ने ऐन, कानून, कार्यविधि निर्माण तथा संशोधनका लागि प्रस्तावसमेत पेश गरिएको छ । यस्तै भौतिक पूर्वाधार विकासतर्फ सडक निर्माण तथा मर्मत, भवन निर्माण, विद्युतीकरण, नदी नियन्त्रण, पर्यटन पूर्वाधार, सामाजिक विकास तर्फ स्वास्थ्य सेवा, शिक्षा, युवा तथा खेलकुद, लक्षित समुहको विकास, आर्थिक विकास तर्फ पुशुपंक्षी, साप्ताहिक हाटबजार तथा व्यवसाय सञ्चालन, औद्योगीकरण, आन्तरिक आम्दानीका विषयमा नीतिगत प्रस्ताव पेश गरेकी छन् ।

शनिबार, १० फागुन, २०७६, दिउँसोको ०३:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर