एक अर्बको कारोबार गर्दै विराट एक्स्पो सम्पन्न

विराटनगर । एक अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै विराटनगरमा जारी विराट एक्स्पो शनिबार समापन भएको छ । उद्योग संगठन मोरङको आयोजनामा भएको एक्स्पोमा ३ लाख ५० हजारले अवलोकन गर्दै एक्स्पो शनिबार सम्पन्न भएको हो ।

एक्स्पोको समापन कार्यक्रममा बोल्दै संघीय सरकारको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अगामी वर्ष हुने एक्स्पोहरुका लागि आवश्यक स्थायी प्रदर्शनीस्थल निर्माण गर्न आफू लागिपर्ने बताउनुभयो । विकासका कामका लागि यो वा त्यो कुनै पार्टी विशेषभन्दा पनि पहिलो महत्वपूर्ण कुरा विकासलाई दिनुपर्ने र त्यसको सहयोग सबै पक्षबाट हुन जरुरी रहेको उहाँको भनाइ थियो ।

स्थायी प्रदर्शनी स्थल निर्माण गर्न स्थानीय सरकार र सरोकारवाला पक्षले आवश्यक प्रबन्ध मिलाएर संघीय सरकारसमक्ष योजना ल्याए त्यसको कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता मन्त्री ढकालले जनाउनुभयो । उहाँले परादर्शितामा ध्यान दिन आग्रह गर्दै मेलाको हिसाब पूर्ण रुपमा पारदर्शी गर्नुपर्ने बताउनुभयो ।

विराटनगर प्रदेश राजधानी हुनुमा विभिन्न पक्षले समेटेका कारण यसको महत्व धेरै रहेको बताउँदै मन्त्री ढकालले विराटनगर अद्यौगिक नगरी हुनुका साथै औद्यौगिक क्रान्तिको थलो र अर्को महत्वपूर्ण राजनैतिक क्रान्तिको थलोसमेत रहेकाले यसको विकासका लागि सबैपक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । कोसी अस्पताललाई देशकै नमुना अस्पतालको रुपमा विकास गर्न लागेको पनि उहाँले बताउनुभयो । सरकारी अस्पतालमा काम गर्ने डाक्टरलाई नजिकका क्लिनिक वा अस्पतालमा काम गर्न बन्देज लगाउने उहाँको भनाइ छ ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विगतभन्दा धेरै गुणाले स्तरीय तरिकाले भव्य रुपमा एक्स्पो सम्पन्न भएको जानकारी दिँदै यस्ता एक्स्पोको लागि स्थायी संरचना बन्नुपर्ने बताउनुभयो । विराटनगरमा अन्तर्राष्ट्रियस्तरको अद्यौगिक प्रदर्शन स्थल बनाउन महानगरले ५० लाख रुपैयाँ छुट्याएको जानकारी दिँदै उहाँले जग्गाको व्यवस्थापन गर्न पनि तयार रहेको प्रतिबद्धता जनाउनुभयो । प्रदर्शनीस्थल बनाउन संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्र पनि अग्रसर हुनुपर्नेमा उहाँको जोड थियो ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले प्रत्यक्ष रुपमा उपभोक्ता र उद्योगीबीचको सम्बन्ध जोड्ने पुलको काम एक्स्पोले गरेको बताउनुभयो । मेलाबाट उद्योगी, व्यवासायीले अक्सिजन पाएको बताउँदै उहाँले निजी जमिनमा एक्स्पो गर्नुपर्ने बाध्यता हटाउन विराटनरमा अन्तर्राष्ट्रियस्तरको स्थायी प्रदर्शनी स्थल आवश्यक रहेकोमा जोड दिनुभयो ।

विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालले उत्साहजनक सहभागिताका कारण आगामी वर्ष एक्स्पो गर्न थप बल पुगको बताउनुभयो । एक्स्पोका माध्यमबाट साना घरेलु, कृषि वनजन्य, मझौला, ठूला उद्योगलाई आफ्नो उत्पादन प्रवद्र्धन एवम् व्यावसायिक सम्बन्ध विकासमा सहयोग पुगेको उहाँको भनाइ थियो ।

औद्योगिक वस्तुको बजार प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा रहेका ३ सय ४० वटा स्टलमा रहेकोमा ४० वटा विदेशी रहेको थियो । भारत, भुटान, पाकिस्तान र बंगलादेशका व्यवसायीले स्टल राखेका थिए । यस्तै कृषि, घरेलु तथा हस्तकलाका ६०, औद्योगिक उत्पादनहरूका १ सय ६०, अटोमोवाईल्स ३८, खाद्यान्नका १२, बैंक तथा विक्तिय संघ÷संस्था, सूचनामूलक थता जनचेतामूलकका २० र फुडका १० स्टल रहेको थियो ।

एक्स्पोले उत्पादक र उपभोक्तालाई एकै ठाउँमा ल्याउने उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बताउनुभयो । कृषि र औद्योगिक उत्पादनको मार्केटिङका लागि एक्स्पो महत्पूर्ण गन्तव्य भएको उहाँको भनाइ थियो ।

सोही अवसरमा झापाको शिवबावा उपचार जुस उद्योग तथा विराटनगर स्थित शाहंशाह अगरवत्ती र र कालिया बिर्यानी मसालाको स्टललाई उत्कृष्ठ स्टल अवार्डले सम्मानित गरिएको छ ।

शनिबार, १० फागुन, २०७६, दिउँसोको ०३:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर