विराटनगर । विद्यार्थी आउन छोडेपछि मोरङको ग्रामथान गाउँपालिकाको झोराहाटस्थित रवी आधारभूत विद्यालयलाई अर्को स्कूलमा गाभ्ने विषयमा चरण चरणमा छलफल भएको थियो । कमजोर भौतिक पूर्वाधार, शिक्षक अभाव, अनियमित पठनपाठन आदि समस्याले गर्दा अभिभावकहरुले आफ्ना छोराछोरी रवी आधारभूत विद्यालयमा पठाइरहेका थिएनन् ।
झोराहाटबाट करिव दुई किलोमिटर दक्षिणमा पर्ने राजकुमारी टोलका केही सक्षम अभिभावकले छोराछोरी बोर्डिङ पठाएका थिए भने धेरै जना स्कूल जाँदैनथे । विद्यार्थी नै नभएका कारण विद्यालय चलेन भन्ने शिक्षकहरुको भनाई हुन्थ्यो ।
विद्यार्थी अभाव र कमजोर पूर्वाधार भएको विद्यालयमा झण्डै तीन वर्ष अघि जितेन्द्र सरदार शिक्षक नियुक्त भई पुग्नुभयो । उहाँ हाजिर हुँदाका बखत विद्यालयमा ३ जना मात्र विद्यार्थी थिए । भएका विद्यार्थी पनि नियमित विद्यालय जाँदैनथे । विद्यालयको यस्तो हालत देखेर युवा शिक्षक चिन्तामा पर्नुभयो र विद्यालय सुधारको अभियान चलाउन थाल्नुभयो । उहाँको अभियानका कारण अहिले विद्यालयको भौतिक पूर्वाधार मात्र होइन विद्यालयप्रतिको आकर्षण नै बदलिएको छ ।
विद्यार्थी अभावले मर्जरमा लैजान ठिक्क पारेको विद्यालयमा अहिले विद्यार्थीको चाप छ । विद्यालयमा लकडाउन अगाडिसम्म ३७५ जना विद्यार्थीहरु नियमित विद्यालय जान्थे । चालु शैक्षिक सत्रमा उक्त संख्या ४ सयभन्दा बढी हुने अनुमान शिक्षकहरुको थियो । कोभिड–१९ का कारण चैत्र महिना पछि विद्यालय बन्द भएपनि विद्यालयको भौतिक सुधार र निर्माणको काम रोकिएको छैन ।
पछिल्लो तीन वर्षमा रवि आधारभूत विद्यालयको स्वरुप नै परिवर्तन भएको छ । नयाँ विद्यालय भवन निर्माण भएको छ । विद्यालय कम्पाउण्ड सुधार गरिएको छ । विद्यालयमा पिउने पानी, शौचालयको राम्रो प्रवन्ध गरिएको छ । विद्यालयमा नियमित र गुणस्तरीय पढाई हुने वातावरण बनेपछि पछिल्लो समय अभिभावकहरुले आफ्ना छोराछोरी बोर्डिङ बठाउन छोडेका छन् भने विद्यालय नपठाउने अभिभावकहरुले आफ्ना सन्तानलाई विद्यालय भर्ना गराएका छन् ।
शतप्रतिशत दलित विद्यार्थी
विद्यालयमा पढ्ने सबै विद्यार्थी दलित समुदायका छन् । ‘हाम्रो विद्यालयमा भर्ना भएका ३७५ जना सबै विद्यार्थी दलित समुदायका छन्,’ प्रधानाध्यापक जितेन्द्र सरदारले भन्नुभयो ‘हाम्रो विद्यालयमा चमार, डुम, सरदार र बाँतर समुदायका विद्यार्थीहरु छन् ।’
दलित र विपन्न समुदायको बसोबास रहेको विद्यालयमा प्रधानाध्यापकको रुपमा सोही समुदायका युवा शिक्षकले नेतृत्व पाएका कारणले गर्दा पनि विद्यालय सुधारमा सहयोग पुगेको छ । उहाँले स्थानीय समुदायलाई विद्यालय सुधारका लागि सहयोग गर्न र छोराछोरीलाई नियमित स्कूल पठाउन आग्रह गर्नुभयो । समुदायको साथ पाएपछि उहाँलाई विद्यालय सुधार गर्न सकिन्छ भन्ने थप आात्मविश्वास पैदा भयो ।
सरकारी सेवामा प्रवेश गर्नु अघि निजी विद्यालयमा अध्यापन गरेको अनुभवले गर्दा जितेन्द्र सरदारलाई विद्यालय सुधार गर्ने र विद्यार्थी आकर्षित गर्ने हिम्मत आएको थियो । त्यसैले गर्दा उहाँले सबैभन्दा पहिले विद्यालयको भौतिक पूर्वाधार सुधारको पक्षमा जोड दिनुभयो भने पठनपाठनको शैलीमा पनि परिवर्तन ल्याउनुभयो ।
अहिले रवि आधारभूत विद्यालय कुनै निजी बोर्डिङ स्कूलभन्दा कमजोर देखिदैन । विद्यार्थीहरु सफासुग्घर भएर विद्यालय पुग्छन् । उनीहरु म्युजिक पिटी खेल्छन् । विद्यार्थीहरुलाई खेलकुद तर्फ आकर्षित गर्न मार्सल आर्टको कक्षा पनि सञ्चालन गरिएको छ ।
कराँतेका प्रशिक्षक सुरज सुवेदीले नियमितरुपमा विद्यार्थीहरुलाई अभ्यास गराउनुहुन्छ । अभ्यासमा राम्रो क्षमता प्रदर्शन गरेकै कारण विद्यालयकी एक जना छात्रा आकृती सरदारलाई विरेन्द्र प्रहरी स्कुलले छनौट गरेर लगेको प्रअ सरदारले जानकारी दिनुभयो ।
एक जना व्यक्तिको इच्छाशक्तिले जीर्ण भइसकेको विद्यालयले अहिले पुनर्जीवन मात्र पाएको छैन नमुना विद्यालय बन्नेतर्फ उन्मुख भएको छ । समुदायलाई शिक्षाको महत्व बुझाउने र विद्यार्थीको भविष्यप्रति अभिभावकमा विश्वास पैदा गराउन सफल भएकै कारण आज रवि आधारभूत विद्यालयप्रति विद्यार्थीहरु आकर्षिभ भई वर्षेनी विद्यार्थी संख्या थपिदै गएको प्रअ सरदार बताउनुहुन्छ । उहाँको अभियानमा प्रदेश सरकारले पनि राम्रो सहयोग गरेको छ ।
प्रदेशसभा सदस्य तथा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्नुभएको छ । ‘केही वर्षभित्रमा यो स्कूललाई नमुना विद्यालय बनाउने गरी हामी सबै शिक्षक र अभिभावकहरु सक्रिय छौं,’ प्रधानाध्यापक सरदारले भन्नुभयो ‘प्रदेशसभा सदस्य बिजयकुमार विश्वास, प्रदेश र स्थानीय सरकार लगायत सबै पक्षको सहयोगबाट बन्द हुने अवस्थामा पुगेको विद्यालय उज्यालो भविष्यतर्फ अघि बढेको छ ।’