धुलो, हिलो र फोहोरबाट तीन वर्ष आक्रान्त

अब बन्दैछ विराटनगर

विराटनगरर । एक वर्ष अगाडि विराटनगरका कुनै पनि सडक हिँड्नसक्ने अवस्थामा थिएनन् । हिउँदमा धुलो र वर्षामा हिलोका कारण यात्रु, सवारी साधन र नगरबासीले पनि सास्ती पाइरहेका थिए । धुलो र हिलोका कारण नागरिकहरु आक्रान्त थिए ।

अहिले भने विस्तारै अवस्थामा सुधार हुँदै आएको छ । महानगरपालिकामा सडक, नाला तथा ढल निकास पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेपछि नागरिकले राहत पाएका छन् । लामो समयदेखि जीर्ण भएका सडक यतिबेला स्तरीय देखिन थालेका छन् । हिँडडुल गर्नसमेत कठिन हुने सडकहरु कालोपत्रे भएका छन् ।

कालोपत्रे सडकको संख्या थपिदै गएपछि वायु मण्डलमा धुलोका कणहरु घट्दै जान थालेको छ । क्षेत्रीय शहरी विकास कार्यक्रम अन्तर्गत सन् २०१७ अक्टोबरदेखि सुरु भएको परियोजना आउँदो १८ मे २०२० मा सम्पन्न हुँदैछ । ३ अर्ब ९९ करोड लागतको परियोजना अन्तर्गत सडक, नाला निकास, ढल तथा सडक फुटपाथ निर्माणको काम भइरहेको छ ।
एशियाली विकास बैंकसँगको सहकार्यमा महानगरले नाला निकास तथा सहरको ढललाई व्यवस्थितरुपमा प्रशोधन केन्द्रसम्म लैजाने काम अगाडि बढेको हो । ढल विस्तारका क्रममा विराटनगरको ६५ किलोमिटर सडक भत्काइएकोले ३ वर्षभन्दा बढि समय नागरिकले सास्ती पाए । निर्माणको काममा भएको ढिलाई र धुलो नियन्त्रणको प्रयास असफल हुँदा महानगर नेतृत्वप्रति नागरिकको आक्रोश थियो । महानगरले सडकमा पानी हालेर नियन्त्रणको प्रयास गरेको थियो ।

परियोजनाको सम्झौता अवधि सम्पन्न हुन तीन महिना बाँकी छ । अहिलेसम्म ७९ प्रतिशत प्रगति हासिल गरेको छ । अबको तीन महिनामा परियोजनाका सम्पूर्ण काम सम्पन्न हुने परियोजनाका प्रमुख इन्जिनियर भरत न्यौपाने बताउनुभयो ।

परियोजना अन्तरगत ४२ किलोमिटर ढल निर्मााण गरिएको छ । मुख्य बजार क्षेत्रलाई समेटेर व्यवस्थित ढल निकासको अन्तिम चरणको काम भइरहेकोले छिट्टै परिक्षण हुनेछ । जतुवा स्थित सिंघीया खोला किनारमा ढल प्रशोधन केन्द्र (ट्रिट्मेन्ट प्लान्ट) निर्माण भइसकेको छ । तीनपैनीदेखि दक्षिण मेनरोड र आसपासका सबै सडकहरु, बरगाछी चोकदेखि महेन्द्रचोक, बसपार्क हुँदै जतुवासम्म ढल जडानको काम भइसकेको छ ।

सडक निर्माणको अनुगमन गर्दै महानगरका प्रमुख भीम पराजुली

परियोजना सम्पन्न भएसँगै यस क्षेत्रका सबै घरले अनिवार्य रुपमा शौचालयको सेफ्टीट्यांकी जडान गर्नुपर्ने छ । साथै अब बन्ने घरमा सेफ्टी ट्यांकी बनाउनुपर्ने छैन । परियोजना अन्तरगत ४२ किलोमिटर ढल निर्माण गर्नुपर्नेमा ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ परियोजनाका इञ्जिनियर घनश्याम काफ्लेले जानकारी दिनुभयो । यस्तै नाला निर्माणको काम पनि करिव सम्पन्न भएको छ । करिब ५० किलोमिटर नाला निर्माण भएको छ भने फुटपाथ निर्माणको अधिकांश काम धमाधम चलिरहेको छ ।
सडक कालोपत्रे भएसँगै धुलो मात्र नभएर फोहोरको समस्या पनि कम भएको छ । सुन्दरतामा बृद्धि भएको छ । परियोजना अन्तरगत ७४ किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेमा अहिलेसम्म ५० किलोमिटर कालोपत्रे भइसकेको परियोजनाले जनाएको छ । तीन महिनाभित्र सबै सडक कालोपत्रे हुने परियोजना कार्यालयले जानकारी दिएको छ ।

परियोजना अन्तरगत बनेका प्रमुख सडकहरु
ड्ड पानीटंकी रोडशेषसम्मको मेनरोड
ड्ड तीनपैनी अस्पतालसम्मको सडक
ड्ड देवकोटा चोक जतुवासम्मको सडक
ड्ड कञ्चनबारीदेखि पश्चिम बस्तासम्मको सडक
ड्ड विराटनगर १५ प्रजातन्त्र मार्ग
ड्ड जलजला चोकदेखि अस्पताल चोकसम्म
ड्ड ठाकुरबाडी रोड आदि

यसबाहेक विराटनगरको रानीदेखि उत्तर ढाटसम्म ६ लेन सडक निर्माण समयमा सम्पन्न नभएपनि निर्माण सकिनेतर्फ बढिरहेको छ । सुनसरी–मोरङ सिंचाइ योजनाको नहरलाई वैकल्पिक सडकको रुपमा विकास गर्ने संघीय सरकारको योजना कार्यान्वयनमा जाने तयारी छ । मोरङ क्षेत्र नम्बर ६ का सांसद लालबाबु पण्डितको पहलमा अघि बढेको योजनाले विराटनगरको ट्रााफिक समस्या समाधान गर्नुको साथै शहरको स्वरुप र त्यसको विस्तारमा समेत नयाँ आधार तयार पार्ने विश्वास गर्न सकिन्छ ।


सडकहरुको निर्माणसँगै बिजुलीका खम्बाहरु व्यवस्थित हुने क्रम पनि सुरु भएको छ । सडक पार्किङस्थल जस्ता थिए । अहिले सडकबाट पार्किङ हट्न थालेको छ । फुटपाथहरु व्यवस्थित हुँदै गएका छन् । यसले विस्तारै विराटनगर बन्दै छ भन्ने सन्देश प्रवाह भएको छ ।

सडकको धुलो अझै हटेन
लामो समयदेखि नबनेका सडकहरु अहिले बन्न थालेका छन् । बनेका सडकहरुको व्यवस्थापन गर्ने र त्यसको सुन्दरता कायम राख्ने सवालमा भने महानगरको ध्यान पुगेको छैन । ६ लेन सडक बनेको छ । तर, त्यसको सफाईको जिम्मेवारी कसको हो भन्नेमा सरकार स्पष्ट नभएजस्तो छ । ६ लेन सडकको दुईलेनमा पुरै माटो र बालुवाको लेयर बनेको छ । जसले हावामा धुलोको कणहरुलाई कम गर्न बाधा पारेको छ ।

पछिल्लो समय बनेका राम्रा सडकहरुमा नियमित सफाई गर्ने, बु्रमरको प्रयोग गर्ने बरु आवश्यकताका आधारमा त्यसको संख्या थप गर्ने र सहरलाई धुलोमुक्त बनाउनेतर्फ ध्यान दिनुपर्छ । साथसाथै धुलोको स्रोतलाई घटाउनेतर्फ पनि ध्यान दिनुपर्छ । सडक क्षेत्र वरपरका सडकहरुलाई प्राथमिकतामा राखेर कालोपत्रे गर्ने र बनेका सडकहरुलाई नियमित मर्मत गर्नेतर्फ महानगरले ध्यान दिनुपर्ने सरोकारवालाहरु बताउँछन् ।

शनिबार, १० फागुन, २०७६, दिउँसोको ०३:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर