सोलुखुम्ब । तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि सोलुखुम्बु र सुनसरीले हात पारेका छन् ।
सोलुखुम्बुमा जारी प्रतियोगिताको शनिबारको फाइनल खेल वर्षाले बिथोलेपछि आयोजकले दुबै टिमलाई उपाधि दिने घोषणा गरेको हो । फाइनल खेलको पहिलो र दोश्रो सेटमा लगातार जित हात पारेको सोलुखुम्बु तेश्रो र चौथो सेटमा लगातार पराजित हुनपुग्यो ।
बर्षाको बीचमा खेलाइएको फाइनलको पाँचौं सेटको खेल चलिरहँदा असिनासहित भारी वर्षा भएपछि सोलुखुम्बु र सुनसरी संयुक्त रुपमा विजेता घोषित भएका हुन् । असिनाका साथमा भारी वर्षा हुनुअघि पाँचौ सेटको खेलमा दुबै टिमको अंक ५÷५ बराबरी रहेको थियो । संयुक्त रुपमा प्रथम हुन सफल सोलुखुम्बु र सुनसरी दुबै टिमले १ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
फाइनल विजेता टिमलाई नेकपा संसदीय दल प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले थप ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्नुभएको थियो । यसअघि तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धात्मक खेलमा भोजपुरलाई पराजित गर्दै झापा बिजयी भएको थियो । तेश्रो र चौथो स्थान प्राप्त गर्न सफल झापा र भोजपुरलाई क्रमशः नगद ५१ हजार र २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
प्रतियोगिताको विजेता टिमका खेलाडीहरुलाई प्रदेश नम्बर १ नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए । मंगलबारदेखि सोलुखुम्बुको योङ्ग स्टार क्लवमा शुरु भएको प्रतियोगितामा प्रदेश नम्बर १ का १३ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा अनिश राई सुनसरी र सञ्जय बस्नेत सोलुखुम्बु घोषित भए । उत्कृष्ट ब्लकर सनुसरीका सुरज चौधरी उत्कृष्ट स्पाइकर सोलुका सुमन मगर, उत्कृष्ट सेटर सोलुकै अर्जुन राई, उत्कृष्ट लिबरो सुनसरीका बसन्त राई, उत्कृष्ट सर्भर झापाका भरत यादव, उदयमान खेलाडी भोजपुरका रोमन बस्नेत घोषित हुनुभएको छ ।
प्रतियोगिताको समापन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेलको माध्यमबाट प्रदेश १ को समृद्धिका लागि सरकार लागिपरेको बताउनुभयो । प्रदेशमा खेल खेलेर पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने सन्देश दिन सरकार लागिपरेको उहाँले बताउनुभयो ।
प्रदेश सरकारले ४२ करोड रुपैयाँ खेलकुदको लागि छुट्याएको बताउँदै मुख्यमन्त्री राईले एकीकृतरुपमा खेलकुदलाई अगाडि बढाउने उद्घोष गर्नुभयो । मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष सागर थापाले खेलबाट राजनीतिक सचेतनासमेत जागृत गर्ने उद्देश्यले खेलकुद आयोजना गरिएको बताउनुभयो ।