पुस्तक बिक्रीमा जनक शिक्षाकै ठगी !

पाठ्यक्रम विकास केन्द्रले तोकेको मूल्य भन्दा बढी रकम लिएर कक्षा पाँचको ‘मेरो नेपाली’ पुस्तक जनक शिक्षाद्वारा बिक्री

विराटनगर । जनक शिक्षा सामग्री केन्द्रले नै नियम विपरित पाठ्यपुस्तकमा स्टिकर टाँसेर पुस्तकको मूल्य बढाएर बिक्री गरेको खुलेको छ ।

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रदेश १ विराटनगरले बिक्री गरेको पाठ्यपुस्तकमा पुरानो मूल्य छोपेर पहिले भन्दा ७ रूपैयाँ बढी लिएर बिक्री गरेको पाइएको हो । पाठ्यक्रम विकास केन्द्रले तोकेको मूल्य भन्दा बढी रकम लिएर कक्षा पाँचको ‘मेरो नेपाली’ पुस्तक बिक्री गरेको पाइएको छ । पाठ्यक्रम विकास केन्द्रले उक्त पुस्तकको खुद्रा मूल्य ७१ रूपैयाँ तोकेको छ । तर केन्द्रले तोकिएभन्दा सात रुपैयाँ बढी लिएर विक्रेतालाई ७८ रूपैयाँमा पाठ्यपुस्त बेचिरहेको छ ।

अघिल्लो वर्ष बिक्री नभएर मौज्दात रहेको पुस्तकको मूल्य नबढाउने र पुरानै कायम राख्ने निर्णय २०६९ मंसिर १ गते शिक्षा मन्त्रालयले गरेको थियो । पाठ्यक्रम विकास केन्द्रले ०६९ मंसिर ७ गते सूचना प्रकाशित गरेर सोही कुरा बताएको छ । तर, जनक शिक्षाले परिमार्जित संस्करण २०७४ को पुस्तकक बढी मूल्य लिएर बिक्री गरेको पाइएको हो ।

माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न राज्यले लकडाउनले गर्दा शैक्षिक संघसंस्था बन्द भएपनि छोराछरीलाई घरमै अध्ययन गराउन अभिभावकले पाठ्यपुस्तक खरिद गरिरहेका छन् । तर अभिभावक भने बढी मूल्य तिरेर पूस्तक किन्न वाध्य भएका छन् ।

बढी मूल्य लिएर पुस्तक बिक्री गर्नेलाई कारवाहीको दायरामा ल्याउनु पर्ने र कालोबजारी गर्ने कर्मचारीसहित जनक शिक्षाको क्रियाकलापको सुक्षम अनुगमन गर्नुपर्ने उपभोक्ता अधिकारकर्मी तथा पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताउनुभयो । ‘एमआरपी मूल्य भन्दा बढीमा पैसा हालेर अभिभावले पुस्तक खरिद गर्नुभनेको त्यहो कालोबजरी हो,’ ढुंगेलले भन्नुभयो, ‘यसरी नियम विपरित काम गर्नेलाई कारवाहीको दायरमा ल्याउनु पर्दछ ।’ विराटगनरको ट्राफिकचौक स्थित पुस्तक पसलबाट एक जना अभिभावकले कक्षा पाँचको मेरो नेपाली पुस्तक खरिद गर्दा पसलले उक्त पुस्तक ७८ रुपैयाँमा बिक्री गरेको पाइएको हो ।

पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गगेलले गत असार २२ गते पपुलर पुस्तक भण्डारलाई विपक्षी बनाइ कारवाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता गराउनुभएको छ ।

यता पपुलर पुस्तक भण्डारका संचालक मातृका सिवाकोटीले जनक शिक्षा सिमाग्री केन्द्र लि.सँग खरिद गरेको मूल्य अनुसार आफुले पुस्तक विक्री गरेको बताए । ‘गत असार २१ मा ५० थान कक्षा पाँचको मेरो नेपाली पुस्तक प्रति दर ७८ रूपैयाँले खरिद गरेको थिएँ,’ उहाँले भन्नुभयो, ‘सोही दररेटमा मैले पाठयपुस्तक बिक्री गरेको हुँ ।’ पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको मूल्य भन्दा बढी रकम लिएको भन्दै पपुलर पुस्तक भण्डाका संचालक सिवाकोटीले पनि मोरङ प्रशासनमा जनक शिक्षा सामाग्री केन्द्र लि. प्रदेश कार्यालय विराटनगर विरुद्ध असार २४ गते उजुरी दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता धु्रवबहादुर खड्काले पब्लिक फोरम र पपुलर पुस्तक भण्डारले पाठ्यक्रम विकास केन्द्रले तोकेका भन्दा बढी मूल्य लिएर जनक शिक्षा समाग्रीले पाठ्यपुस्तक बिक्री गरेको भन्दै उजुरी आएको जानकारी दिनुभयो । उहाँले अहिले कुरा बुझ्ने काम भइरहेको र जनक शिक्षालाई स्पष्टिकरण सोध्ने तयारी भएको जानकारी दिनुभयो ।

यता जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रदेश १ का कार्यालय प्रमुख भुपराज थापाले केन्द्रले तोके अनुसार पाठ्यक्रम बिक्री गरेको प्रतिकृया दिनुभएको छ । उहाँले नयाँ शैक्षिक शत्रदेखि मूल्य बढाउनु भन्ने केन्द्रको निर्देशन अनुसार पुस्तकको मूल्य बढाएको दावी गर्नुभएको छ ।

कक्षा आठको नेपालीमा मूल्य छैन

जनक शिक्षा सामग्रीले कक्षा ८ को नेपाली विषयको पाठ्यपुस्तकमा पनि मूल्य नराखी बजारमा पठाएको पाइएको छ । २०६९ मंसिर १ गते शिक्षा मन्त्रालयले पुस्तकमा मूल्य अनिवार्य राख्नै पर्ने निर्णय गरेको थियो । मूल्य उल्लेख गरेर मात्र बजारमा पुस्तक पठाउने निर्णय विपरित कक्षा ८ को नेपाली पुस्तक बजारमा गएको हो । मूल्य नराखी पाठ्यपुस्तक बजारमा पठाउँदा व्यवसायीहरूले अभिभावकसँग मनपरी मूल्य लिने गरेको गुनासो अभिभावकहरुले गरेका छन् ।

बिहिबार, ०१ साउन, २०७७, दिउँसोको ०२:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर