विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्न विराटनगरको सडकमा राखिएकोे डिभाइडरमा रिफ्लेक्टर स्ट्रिकर टाँस्ने अभियान सुरू भएको छ । विराटनगर–४ बरगाछीदेखि बुढीगंगा गाउँपालिका २ टंकीसिनवारीसम्म रहेको सडकमा रहेको डिभाइडरमा फलाममा जडित रिफ्लेक्टर स्टिकर राख्ने अभियान ट्राफिक प्रहरीले सुरू गरेको हो ।
शुक्रबार बगरगाछीदेखि टंकिसिनवारीसम्म करिब चार किलोमिटर सडकमा राखिएको डिभाइडरमा रिफ्लेक्टर स्टिकर जडान गरिएको मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रमुख राकेशकुमार पोद्दारले जानकारी दिनुभयो । रातको समयमा हुने सवारी दुर्घटनालाई रोक्न रिफ्लेक्टर स्टिकर जडान गरिएको हो ।
‘पछिल्लो समयमा रातको समयमा पनि सवारी दुर्घटना हुने गरेको छ,’ पोद्दारले भन्नुभयो, ‘दुर्घटना न्यूनिकरण गर्न डिभाइटर राखिएको सडकमा रिफ्लेक्टर स्टिकर जडान गरिने अभियानको सुरूवात गरिएको हो ।’ रिफ्लेक्टर स्टिकर राखिएको स्थानमा रातको समयमा चम्किलो देखिएर डिभाइडर भएको सवारी चालकले प्रष्ट देख्ने भएकोले दुर्घटना हुनबाट जोगिने उहाँको भनाई छ ।
कार्यक्रममा विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेशकुमार पोद्दार र स्थानीय वासिन्दाहरुको उपस्थिति रहेको थियो । ट्राफिक प्रहरीले विराटनगरको विभिन्न स्थानमा यसअघि जथाभावी गरिने पार्किङ्गलाई व्यवस्थित गर्दै आएको छ । विराटनगरको मेनरोड जलजला मोडदेखि हनुमान मन्दिरसम्मको सडकलाई अहिले नो पार्किङ्ग क्षेत्र बनाएको छ ।
ट्राफिक जाम हटाएर सवारी आगमनलाई सहज बनाउन सो क्षेत्रमा नो पर्किङ्ग क्षेत्र बनाएको थियो । जथाभावी सवारी पार्किङ्ग गरि राखिएको सवारी साधनलाई पनि ट्राफिक प्रहरीले कारवाहीको दायरामा ल्याउँदै आएको छ ।