संघीयता संस्थागत भएरै समृद्धि आउँछः मन्त्री पुन

विराटनगर । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अनन्तले संघीयतालाई संस्थागत गरेर नै समृद्धि हासिल हुनसक्ने बताउनुभएको छ । संघीयताको मर्म अनुसार प्रदेशलाई बलियो बनाएर विकास र समृद्धि हासिल गर्नुपर्ने मन्त्री पुनको भनाइ छ ।

शुक्रबार विराटनगरमा हाम्रोमत दैनिकको सार्वजनिकीकरण तथा अनलाइन संस्करणको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले प्रदेश सरकार र संरचनाहरु बलियो भएमात्र विकास र समृद्धि सम्भव हुने बताउनुभएको हो । संघीयताले विकासका आधारहरु तयार पार्ने र छोटो समयमा नै त्यसको सुरुवात भइसकेको उहाँले बताउनुभयो । प्रदेश ५ देशमै सबैभन्दा उच्च आर्थिक वृद्धिदर कायम गर्न सक्षम प्रदेशको रुपमा अगाडि आएको र त्यसले अन्य प्रदेशलाई प्रतिष्पर्धाको आव्हान गरेको उहाँले बताउनुभयो । त्यसैगरी खर्च गर्ने क्षमतामा प्रदेश १ अगाडि आएको भन्दै उहाँले प्रदेश सरकारको प्रशंसा गर्नुभयो ।


प्रदेश १ ले दोश्रो चौमासिक अवधिमा २६ प्रतिशत पूँजीगत खर्च गरेको भन्दै यस प्रदेशबाट अरुले सिक्नुपर्ने मन्त्री पुनको भनाइ थियो । प्रदेशबीचको प्रतिष्पर्धाले विकास र समृद्धिमा सहयोग पु¥याउने भएकोले सबैले प्रदेशलाई संस्थागत र बलियो बनाउन योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशका स्रोतहरु प्रदेशमा उपयोग गर्ने वातावरण तयार पार्न आग्रह गर्दै मन्त्री पुनले हरेक कुरामा काठमाडौतर्फ फर्कने कुराले संघीयतालाई बलियो बनाउन नसक्ने बताउनुभयो । उहाँले मिडियाले पनि स्थानीय तह र प्रदेशमा आफ्नो भविष्य खोज्नुपर्नेमा जोड दिनुभएको छ ।

उर्जामन्त्री पुनले प्रधानमन्त्री समृद्ध नेपाल सुखि नेपालीको सपना साकार पार्न क्रियाशिल रहनुभएको भन्दै उहाँले पूर्वाधार विकासबाट मात्र त्यो लक्ष्य हाशिल हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘पूर्वाधारमा लगानी गरेपछि विदेशी लगानी आउनुको साथै रोजगारी वृद्धि हुन्छ र ग्रामिण अर्थतन्त्र चलायमान बन्छ जसले समृद्धि हाशिल गर्दछ ।’

देश मल्टिमिडियातर्फ अघि बढेको बताउँदै मन्त्री पुनले पहिले विश्वमा प्रिन्ट मिडियाको एकाधिकार भएपनि विस्तारै मल्टिमिडियाले स्थान बलियो बनाउदै गएकोले त्यसतर्फ अघि बढ्न आग्रह गर्नुभएको छ । सञ्चार प्रविधिमा भएको विकास र परिवर्तनले आज पढ्न, सुन्न र हेर्न मिल्ने एउटै विश्वसनीय माध्यमको खाँचो रहेकोले त्यो चुनौतिको सामना गर्न तयार रहनुपर्ने उहाँले बताउनुभयो ।

जनयुद्धको समयमा पूर्वी कमाण्डको नेतृत्वकर्ताको हैसियतमा जनविद्रोह दैनिकको सुरुवात गरेको भन्दै मन्त्री पुनले नयाँ स्वरुपमा विकास भएकोमा सफलताको शुभकामनासमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीयता विकास र समृद्धिको मुलबाटो भएको बताउँदै यात्रा कठिन भएपनि यसैको माध्यमबाट समृद्ध नेपालको सपना पुरा हुने दावी गर्नुभएको छ । संघीयताले मात्र हिमाल, पहाड र तराईबीच बलियो सम्बन्ध बनाउन, सबै भाषा, धर्म र संस्कृतिलाई जोड्ने र विकासको यात्रा अघि बढाउने उहाँको भनाइ छ ।

समाजमा सकारात्मक सोचको विकास गर्न आवश्यक रहेको र त्यसकालागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्ने मुख्यमन्त्री राई बताउनुभयो । समाजप्रति प्रतिवद्ध हुने, जनताको आवाजको रुपमा प्रस्तुत हुने तथा जनतालाई आशावादी बनाइराख्न सक्ने माध्यमको खाँचो रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा जनविद्रोह दैनिकका परिवर्तित रुप हाम्रोमत दैनिकको सार्वजनिकीकरण तथा हाम्रोमत डटकम अनलाईन पोर्टल उद्घाटन गरिएको थियो । कार्यक्रमका सहभागीले एकसाथ हाम्रोमतको सार्वजनिक गरेका थिए भने मन्त्री पुनले अनलाईन पोर्टल उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका नेता राजिब कोइराला, समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादव, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुईटेल, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, विज्ञापन एजेन्सी संघका प्रदेश अध्यक्ष पवन अधिकारी, जनविद्रोहका संस्थापक सम्पादक शिवकुमार डाँगीले शुभकामना दिनुभएको थियो । सो अवसरमा जनविद्रोह दैनिकमा रहेर विगतमा योगदान गर्नेहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे, उपसभामुख सरस्वती पोखरेल, नेकपा प्रदेश सचिब सुरेशकुमार राई, केन्द्रीय सदस्यहरु विनोद ढकाल, गोपीबहादुर अछामी, घनेन्द्र बस्नेत, प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डल, प्रदेशसभाका सदस्यहरु उमिता विक, सुयर्माराज राई, कुलप्रसाद साम्बा, उमिता विक, उपेन्द्र घिमिरे, प्रदेशसभा सचिब गोपाल पराजुलीलगायतको सहभागिता थियो । २०६१ वैशाख ६ गतेबाट साप्ताहिक रुपमा प्रकाशन आरम्भ भएको जनविद्रोह दैनिक हुँदै बिहीबारबाट हाम्रोमत दैनिकको रुपमा ब्रोडसिट रंगिन कलेबरमा प्रकाशन आरम्भ भएको हो ।

शुक्रबार, ०९ फागुन, २०७६, दिउँसोको ०४:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर