विराटनगर । प्रशासनिक र व्यापारिक केन्द्रको रुपमा लिने गरिन्छ विराटनगर महानगरपालिकाको ७ नम्बर वडालाई । यहाँ धेरै सरकारी कार्यालय र विराटनगर महानगरपालिकालाई परिचत गराउने वडा पनि हो । शहरोन्मुख वडा भएकोले पनि वडा भित्रका प्रायः सबै सडक कालोपत्रे भइसकेको वडाध्यक्ष मधुबाबु तिवारीले बताउनुभयो । सानाठूला गरि ६५ वटा सडक रहेको यस वडाभित्रका करिब ५२ वटा सडक पिच भइसकेको वडाअध्यक्ष तिवारीले जानकारी दिनुभयो । बाँकी सडक कालोपत्रे हुने क्रममा रहेको छ । ‘अहिलेसम्म वडाभित्रका ६ सय ७० मिटर सडक कालोपत्रे भएको छ । अन्य थप हुने क्रममा रहेको छ,’ वडाध्यक्ष तिवारीले भन्नुभयो, ‘पानीको निकास हुनको लागि नाला निर्माणको कम पनि भइरहेको छ । वडाभित्र रहेको विभिन्न सडक किनारका १७ सय ८० मिटरसम्म नाला निर्माण पूरा भएको छ । अरू पनि हुने क्रममा रहेको छ ।’
उहाँका अनुसार आरसीसी नाला निर्माण १ सय २९ मिटर पूरा भएको छ । भित्री बाटाहरूमा रिटेनिङ्ग वालको काम पनि भइरहेको छ । हालसम्म १ सय ३६ मिटरको रिटेनिङ्ग वालको काम पूरा भएको छ । नालमा स्ल्याव लागाउने काम पनि भइरहेको छ । १३ सय २५ मिटर नालामा स्ल्याव लगाउने काम पूरा भएको छ । यस्तै भित्री बाटोहरुमा च्याम्बर नाला र ढलाइको कामहरु पनि भइरहेको वडाध्यक्ष तिवारीले बताउनुभयो ।
१ हजार ७ सय २५ घरधुरी रहेको वडामा करिब १८ हजार जनसंख्या रहेको छ । वडा भित्रका पुरूष र महिलाहरूलाई रोजगारमुखी बनाउन शिपमुलक तालिम वडा कार्यालयले दिँदै आएको छ । यहाँका महिलालाई खेलौना बनाउने र सिलाइबुनाई तालिम दिदै आइएको छ भने पुरूषलाई ड्राइभिङ्ग तालिम दिदै आएको छ । ‘सिलाइबुनाई तालिम दिने मात्र नभई हामी उनीहरुलाई स्वरोजगार र आात्मनिर्भर बनाउन प्रयत्न गरिरहेका छौं’, उहाँले भन्नुभयो, ‘सिकेको ज्ञानलाई जीवनोपयोगी बनाउन हामीले थप हौसला पनि दिने गरेका छौं ।’
उहाँका अनुसार सामुदायिक भवन निर्माणमा वडा कार्यालयले सहयोग पनि गर्दै आएको छ । दलित, पिछडा सामुदायका महिलाहरूको क्षमता तथा नेतृत्व विकासका लागि विभिन्न कामहरु गर्दै र आवश्यक तालिमहरु पनि दिँदै आाएका छौं । उहाँले वडाको विभिन्न टोलहरूमा साताको एक दिन सरसफाइ गर्ने अभियान पनि चलाउँदै आएका छौं ।
बस्ती जोगाउन तटबन्धन
सिंघीया खोलामा आएको बढीले विराटनगर ७ को सुकुम्बासी बस्तीसहित अन्य थुप्रै घर डुवानमा हुने गरेको थियो । वर्षायाम सुरू हुनुभन्दा तीन महिना अगाडि सिंघीया खोलामा करिब ५ सय ८० मिटरको तटबन्धन गरेपछि अहिले बस्ती जोगिएको वडाध्यक्ष मधुबाबु तिवारी बताउनुहुन्छ । ‘दरिलो तरिकाले जाली भित्र टुङ्गा राखेर तटबन्ध बनाएका छौं,’ उहाँले भन्नुभयो, ‘समयमै तटबन्धन गरिएकोले अहिले बाढीबाट बस्ती जोगिएको छ ।’ यसअघि प्रत्येक वर्ष संघीया खोलामा आएको बाढीले ३/४ सय घर ढुबाउने गरेको भएपनि यस पटक बस्तीमा खोला पस्ने समस्या नआउने उहाँको विश्वास छ ।
हरियाली टोलमा सामुदायिक भवन
सुकुम्बासी हरियाली टोलमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण भइरहेको छ । १० लाखको लागतमा सामुदायिक भवन निर्माण भइरेको वडाध्यक्ष तिवारीले जानकारी दिनुभयो । करिब सय जना अटाउने क्षमताको सभाहल पनि रहेको उहाँले बताउनुभयो । अहिले निर्माण कार्य जारी रहेको र एक वर्ष भित्रमा निर्माण कार्य सम्पन्न हुने उहाँको भनाई छ । सोही स्थानमा एउटा मन्दिर र सन्सारी सामुदायिक भवन पनि निर्माण भइरहेको वडाध्यक्ष तिवारीले बताउनुभयो । ‘अहिले सो सामुदायिक भवनको तला थप्ने योजना अनुरुप निर्माण कार्य जारी छ,’ वडाध्यक्ष तिवारीले भन्नुभयो, ‘तीन लाखको लागतमा निर्माण कार्य सुरु भएको छ ।’ यसैगरी सरस्वती मन्दिर सामुदायिक भवनको काम प्रदेश सरकार र महानगरको छुट्टै लगानीमा अगाडी बढेको उहाँले जानकारी दिनुभयो ।
काली मन्दिरमा लिफ्ट
विराटनगरको धार्मिक मन्दिरको रुपमा चर्चित छ कालि मन्दिर । यहाँ धर्मलम्बीहरुको ठूलो घुँइचो लाग्ने गर्दछ । सबैभन्दा धेरै भीड नवरात्रीमा लाग्ने गरेको छ । विराटनगर महानगरपालिसँगको समन्वयमा वडा कार्यालयले भक्तजन र धर्मलम्बीहरुको सहजताका लागि काली मन्दिरभित्र ३० लाखको लगायनीमा लिफ्ट जडान गर्न लागेको वडाध्यक्ष तिवारीले जानकारी दिनुभयो ।
नमूना सर्वजानिक शौचालय
विराटनगर ७ वडा कार्यालय अगाडी हाटखोला चौकमा नमूनाको रूपमा सार्वजानिक शौचालय संचालनमा छ । वृद्ध मिलन मिनल वाचनलयले निर्माण गरेको शौचालय यहाँको एउटा नमूना सार्वजानिक शौचालय हो । करिब २२ लाख रुपैयाँको लागतमा निर्माण भएको उक्त शौचालयको रेखदेखका लागि छुट्टै कर्मचारी प्रवन्ध गरिएको छ । सार्वजानिक शौचालय सफा र स्वच्छ रहेको उहाँले बताउनुभयो । शौचालय अगाडि फुलका बोटहरू रोपिएकोले हरियाली देखिन्छ । शौचालयसँगै पसलहरु छन् ।
अन्तर्राष्ट्रिय मापदण्डको कवर्ड हल बन्दै
विराटनगर ७ मा अन्तर्राष्ट्रिय स्तरको कवर्ड हल निर्माणधीन रहेको वडाध्यक्ष तिवारीले जानकारी दिनुभएको छ । झण्डै ७ करोडको लगानीमा निर्माण हुने उक्त कवर्ड हलमा अन्तर्राष्ट्रिय प्रतियोगितासमेत सञ्चालन हुने छन् । आगमी आर्थिक वर्षभित्रमा निर्माण कार्य पुरा हुने गरि कवर्ड हल निर्माणको काम जारी रहेको उहाँले बताउनुभयो । उक्त कवर्ड हल १५ सय जना क्षमताको रहेको बताइएको छ ।
छिटोछरितो सेवाको अपेक्षा
वडामा प्रयाप्त विकासका कामहरु भइरहेको भएपनि जनताले प्राप्त गर्ने सेवामा भने ढिलासुस्तीकै समस्या रहेको स्थानीयले बताएका छन् । स्थानीय आनन्दकुमार कामतले छिटोछरितो ढंगले काम गर्ने र गुणस्तरमा ध्यान दिने गरी संयन्त्रको विकास गर्नुपर्ने सुझाव दिनुभएको छ । वडा कार्यालयहरुले विभिन्न तालिमहरु दिदै आएको भएपनि आर्थिकरुपमा विपन्न भएका र पहुँच नपुग्नेहरुको पहिचान वडाले गर्नुपर्ने उहाँको सुझाव छ । वडाले आर्थिक अवस्था कमजोर भएकाहरुलाई रोजगारमूलक तालिमको व्यवस्था गरी आत्मनिर्भर बनाउने तर्फ ध्यान दिएको खण्डमा जनताले सरकारको महशुस गर्ने उहाँको भनाइ छ ।