विराटनगर । आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले लकडाउन अन्त्य भए लगतै प्रहरी समायोजन प्रकृया आरम्भ हुने बताउनुभएको छ । चैत महिनादेखि नै समायोजन सुरु गर्ने तयारी भएपनि लकडाउनका कारण पर सरेको उहाँले बताउनुभएको हो । प्रदेशसभामा जारी विनियोजन विधेयक २०७७ माथिको छलफलमा मंगलबार मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले शान्ति सुरक्षा र अमनचैनको विषयमा ध्यान दिइरहेको र त्यसैका लागि प्रहरीलाई सशक्त बनाउने, उनीहरुलाई साधनस्रोत सम्पन्न बनाउने काममा लागिपरेको मन्त्री कार्कीले बताउनुभएको छ । उहाँले आउँदो वर्ष १४ जिल्लाकै जिल्ला प्रहरी कार्यालयको भवन संघीय सरकारको बजेटबाट निर्माण हुने र ७८ वटा प्रहरी कार्यालय निर्माणका लागि प्रदेश सरकारले ठेक्का लगाइसकेको जानकारी दिनुभयो । तिमध्ये आउँदो आर्थिक वर्षमा ५१ वटा भवन निर्माण सम्पन्न भइसक्ने मन्त्री कार्कीको भनाई थियो ।
मन्त्रालयको विनियोजनमाथि प्रदेशसभा सदस्य तथा नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, राजेन्द्रकुमार राई, लोकप्रसाद संग्रौला र अम्बिका थापाले प्रश्नहरु गर्नुभएको थियो ।
मन्त्रालयले शान्तिसुरक्षा, कानून, सञ्चार र विपद व्यवस्थापनको काम विशेष गरी हेर्ने भएकोले यि मध्ये कानूनको काममा भने करिव पूर्ण अधिकार प्राप्त भएको मन्त्री कार्कीले जानकारी दिनुभएको छ ।
प्रदेश १ मा बाढी पहिरो, डढेलो, हात्ती, बाँदर आदि जङ्गली जनावरहरुको प्रकोपको सामना गर्नुपर्ने अवस्था रहेकोले विपद्को क्षेत्रमा मन्त्रालयले निरन्तर काम गरिरहेको जिकिर गर्नुभएको थियो ।
छलफलका क्रममा मन्त्री कार्कीले सरकारले प्रहरीको गाडी किनेको तर एम्बुलेन्स र दमकल नकिनेको भन्ने विषयमा पनि स्पष्ट पार्ने प्रयास गर्नुभएको छ । उहाँले आगामी आर्थिक वर्षमा १४ वटा दमकल खरिद गर्ने, ७० वटा एम्बुलेन्स खरिद गरेर स्थानीय तह लाई वितरण गर्ने जानकारी दिनुभयो । ‘हामीले पहिलो वर्ष नै स्थानीय तहहरुलाई एम्बुलेन्स दिन्छौं भन्यौं तर पहिलो वर्ष वैशाखमा मात्र राजश्व छुटको अनुमति आयो, दोश्रो वर्ष मंसिरमा अनुमति आयो तर कोरोनाले गर्दा सम्भव भएन । तेश्रो वर्ष पनि बजेट विनियोजन गरिएकोछ छिट्टै राजश्व छुटको अनुमति ल्याएर खरिद गछौं ।’ उहाँले दमकल भदौ असोजसम्ममा आइसक्ने जानकारी दिनुभएको छ ।
आन्तरिक मामिला मन्त्रालयले शान्ति सुरक्षा तथा अमनचयनका लागि सुरक्षाकर्मीलाई छ सय वटा मोटरसाइकल वितरण गरिसकेको जानकारी दिनुभयो । अब चालु आर्थिक वर्षमा ५० वटा मोटरसाइकल खरिद गर्न बजेट विनियोजन भएको छ । अब मोटरसाइकल नपुगेको प्रहरी चौकी बाँकी रहने छैन । उहाँले प्रदेश सरकारमा प्रहरी समायोजन भएपछि संघीय सरकारले गाडी नदिने भएकोले पनि अहिले गाडी खरिद गर्नुपरेको स्पष्टिकरण दिनुभएको छ । उहाँले भन्नुभयो ‘अहिले बजेटमा विपद् व्यवस्थापन सामान ढुवानीका लागि पिकअप भ्यान खरिदका लागि मात्र बजेट छ , हामीले किन्ने सबै गाडी प्रहरीका लागि मात्र हो ।’