विराटनगर / महाशिवरात्री तथा सेना दिवस २०७६ सालको अवसर पारेर सूर्यदल गण थलाहा व्यारेकले स्वास्थय शिविर सञ्चालन गरेको छ ।
बिहीबार मोरङको धनपालथान गाउँपालिका ३ मा बृहत स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
शिविरमा नेपाली सेनाका डाक्टर, स्वास्थ्यकर्मीलगायतले बिभिन्न १२ प्रकारका स्वास्थ्य सेवा प्रदान गरेका थिए । शिविरमा फिजिसियन, स्त्रीरोग, सर्जरी, हाडजोर्नी तथा नशारोग, बालरोग, छालारोग, दन्त चिकित्सा, नाक कान घाँटी, आँखारोग लगायत भिडियो एक्स रे, इसिजि र प्रयोगशाला सेवा समेत उपलब्ध गराइएको थियो । शिविरमा विराट मेडिकल कलेज टिचिङ्ग अस्पताल, कोशी अस्पताल, न्यूरो कार्डियो तथा मल्टिस्पेशियालिटी अस्पताल, गोल्डेन अस्पताल प्रालि, जीवन विकास पव्लिक हेल्थ सेन्टर, आर के चिल्ड्रेन अस्पताल, बिराटनगर र बिराट आँखा अस्पतालका चिकित्सकहरुले साथ दिएका थिए ।
शिविरमा नवरत्न मेडिसिन प्रा.लि. ईटहरी, नेपाल औषधि खरिद बिक्री संघ विराटनगर, जस्मिन हाईजिन प्रोडक्ट विराटनगर र लायन्स क्लव अफ विराटनगर ईन्टरप्रिनूअरबाट बिभिन्न स्वास्थ सामाग्री सहयोग गरेका थिए । शिविरबाट १ हजार २ सय ३६ जनाले स्वास्थ्य परीक्षण गराई निःशुल्क औषधि लिएका छन् ।
शिविरमा पशु तथा कृषि सेवासमेत प्रदान गरिएको छ । शिविरमा ३ सय ५५ कृषकहरुलाई बीउबीजन वितरण गरियो भने ५० कृषकहरुले आफ्नो पशुलाई कृत्रिम गर्भधारणसमेत गराएको सूर्यदल गण थलाहा व्यारेकले जानकारी दिएको छ । कार्यक्रममा नेपाली सेनाद्वारा विपद् प्रतिकार्य तथा बिष्फोटक पदार्थ सम्वन्धी सचेतना कक्षा र विराट मेडिकल कलेजका विद्यार्थीहरुले स्वास्थ्य जनचेतनामूलक सडक नाटकसमेत प्रदर्शनी गरेका छन् ।
कार्यक्रममा पूर्वी पृतनापति उपरथी अनन्त कार्की, नं २ बाहिनी अड्डाका बाहिनीपति यामप्रसाद ढकाल, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंह, सूर्यदलका गणपति प्रमुख सेनानी रघुनाथ पौडेल, गाउँंपालिका उपाध्यक्षलगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।