‘गमबुट’ लगाएर वृक्षारोपण, छाता ओडेर मन्त्रीको भाषण

विराटनगर । आइतबार दिउँसो सिमसिम पानी परिरहेको थियो । मोरङको बेलबारी नगरपालिकाको भाउन्ने स्थित चिसाङ खोलाको बगर छेउको जङ्गलमा नेकपाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की ।

बिरुवा रोप्न चौर जोतेर खाल्डा खनिएको थियो । कार्यक्रममा पार्टी कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । पार्टीका केन्द्रीय नेता र सरकारका मन्त्री सहभागी हुने कार्यक्रममा पाहुनाहरुको स्वागत र सम्मानमा कुनै कमी थिएन ।

जसै औपचारिक कार्यक्रम सुरु भयो सञ्चारकर्मीहरु तस्बिर लिन तम्तयार भए । त्यतिकैमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले सिमसिम पानीबाट जोगिन आफैं छाता समाउनु भयो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो जन्मदिनमा बिरुवा रोप्दा एक जनाले छाता ओढाएको र टेक्ने ठाउँमा जुत्ता जोगाउन बोरा राखेको तस्बिरले व्यापक चर्चा पाएपछि नेतृत्वको आलोचना भएको थियो ।

त्यसै प्रकारको आलोचना हुनसक्ने तर्फ सचेत हुँदै आइतबार मन्त्री कार्कीले कार्यक्रम अवधिभर आफैं छाता समातेर ओढ्नुभयो । उहाँले हिलोमा टेक्नु पर्ने आंकलन गरी ‘गमबुट’ साथमै बोकेर लैजानु भएको थियो र गमबुट लगाएर वृक्षारोपण गर्नुभयो । त्यस क्रममा मन्त्री कार्कीले संचारकर्मीतर्फ व्यङ्ग््य गर्नपनि भ्याउनुभयो । ‘छाता म आफैं ओड्छु यता ल्याउनुस्,’ मन्त्री कार्कीले भन्नुभयो ‘साथीहरुले फोटो खिच्नु हुन्छ भनेरै मैले गमबुट लगाएरै आएको छु ।’

विराटनगरमा भएको वृक्षारोपण कार्यक्रममा सहभागी हुनु भएका मुख्यमन्त्री शेरधन राईले आइतबार हिलोको पर्वाह नगरी बिरुवा रोप्नु भयो । उहाँलाई कसैले छाता ओढाएनन् र जन्मदिनको झैं बिरुवा रोप्ने बेलामा खाल्डोको छेउमा बोरा पनि राखिदिएनन् ।

यतिमात्र होइन आइतबार उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री बिजय विश्वास चप्पल लगाएर पाइन्ट सुर्केर वृक्षारोपणमा सहभागी हुनुभएको देखियो । नेकपा मोरङका सचिव गणेश उप्रेतीले पनि पाइन्ट सुर्केरै कार्यक्रम चलाउनुभएको थियो ।

आखिर नेताहरुले सामान्य ख्याल गर्दा वा सचेत हुँदा सार्वजनिक आलोचनाबाट बच्न सकिने रहेछ भन्ने उदाहरण आइतबारकै कार्यक्रममा स्पष्ट भयो ।
कुर्सीमाथि चढेर सलामी लिने चलन होस् वा घण्टौं सडक बन्द गरेर भिआइपीको सवारी चलाउने कार्य वा नेताको ब्रिफकेस बोकिदिने र छाता ओढाइदिने चलन किन नहोस् यो लोकतान्त्रिक नभई सामन्ती संस्कार हो । नेताहरुले यसरी नै आफ्ना व्यवहारहरु परिवर्तन गर्दै लगेको खण्डमा सार्वजनिक आलोचना र तिखा टिप्पणीहरुको सामना गर्नु पर्ने अवस्था आउँदैन ।

आइतबार, १४ असार, २०७७, रातीको ११:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर