विराटनगर / विराटनगर–२ स्थित शंकरपुरमा जारी विराट एक्स्पोमा उद्योगी, व्यवसायी र उपभोक्ता तीन पक्षले लाभ लिएका छन् ।
उद्योग संगठनले आयोजना गरेको एक्स्पोमा आफ्नो उत्पादन र व्यापार व्यवसायीले राखेको स्टलबाट केबल व्यापारी मात्रैले लाभ लिएनन् कि उपभोक्ताले झन् धेरै लाभ लिएका छन् ।
एक्स्पोमा राखिएको चारपांग्रे सवारी साधनदेखि लुगाकपडा, दैनिक उपभोग्य वस्तुमा गरिएको छुटबाट उपभोक्ताले लाभ लिएका छन् । उद्योगी तथा व्यवासायीले आफ्नो उत्पादन प्रचार गर्ने र प्रत्यक्ष रूपमा उपभोक्तालाई उत्पादन गरिएको वस्तुको जानकारी दिँदै सस्तोभन्दा सस्तोमा सामग्री दिएको व्यापारीहरु बताउँछन् ।
एक्स्पोमा लुगाको स्टल राखेका श्यामकाजी थापाहरू यहाँबाट धेरै खुसी भएको बताउनुभयो । ‘हामीले उपभोग्क्तालाई लुगा उद्योगकै दरमा दिँदै आएका छौं,’ उहाँले भन्नुभयो, ‘एक्स्पोबाट हामीले नगद लाभ नपाए पनि हाम्रो उत्पादनको प्रचारप्रसार धेरै भएको छ । त्यसबाट हामी धेरै सन्तष्टि र लाभ लिएका छौं ।’ व्यवसायीलाई प्रत्यक्ष रूपमा फाइदा नहुँदा पनि खुसी रहेको उहाँको भनाइ छ ।
अर्का जुत्ता व्यवसायी चेतन निरौलाले पनि एक्स्पोबाट धेरै खुसी भएको बताउनुभयो । उहाँले जुत्ताको बजार थाहा पाउन पनि सहज भएको बताउनुभयो । एक्स्पोमा बजारभाउभन्दा ५० सस्तोमा जुत्ता दिएको उहाँको भनाइ छ ।
एक्स्पोबाट नाफा कमाउनेभन्दा पनि हाम्रो उत्पादन प्रत्यक्ष रुपमा उपभोक्तालाई जानकारी दिने र बाहिरी बजार विस्तार गर्न सहज हुनेछ । एक्स्पोमा दैनिक हजारौंका संख्यामा एक्स्पो अवलोकन गर्ने र खरिद गर्नेको भीड बढ्दै गएको आयोजकले जनाएका छन् । एक्स्पोमा विराटनगर–१ कि बाट आउनु भएको मन्जु भण्डारीले यस्तो खालको मेला नियमित भयो भने हामी उपभोग्क्तालाई सहज हुने बताउनुभयो ।
एक्स्पोमा अवलोकनकर्तालाई मनोरञ्जन दिन दैनिक साँझमा राष्ट्रिय तथा स्थानीय कलाकारले साँगीतिक माहोल जमाउने गरेका छन् । साँगीतिक माहोल तताउनका लागि शुक्रबार गायिका इन्दिरा जोशी आउने बताइएको छ ।
एक्स्पोका प्रचारप्रसार संयोजक नन्दकिशोर राठीका अनुसार बिहीबार मात्र एक्स्पोको ३५ हजारभन्दा बढीले अवलोकन गर्नुका साथै ८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । मेला अवधिभर हेलिकोप्टरबाट विराटनगर परिक्रमा गर्दा छुटको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।
हेलिकोप्टरबाट नगर परिक्रमा गर्दा छुटको व्यवस्था गरिएपछि हेलिकोप्टर चढ्नेहरूसमेत बढेका छन् । हेलिकोप्टरबाट सिटी टुर गर्दा प्रतिव्यक्ति ७ हजार ५ सय शुल्क लाग्ने गरेको थियो । छुटपछि भाडा घटेर ५ हजार ५ सय रुपैयाँमा झरेको छ । हेलिकोप्टरबाट विराटनगर परिक्रमा गर्दा निक्कै रमाइलो भएको यात्रुहरूले बताएका छन् ।
हेलिकोप्टरबाट सिटी टुरका लागि छुटको व्यवस्था गरिए पनि हलेसी र पाथिभरा जाँदा भने छुटको व्यवस्थता नगरिएको आयोजक समितिले जनाएको छ । एक्स्पोमा हेलिकोप्टर पनि आगन्तुकहरूका लागि आकर्षणको केन्द्र बनेको छ ।
एक्स्पोमा कानुनी मन्त्री डा. शिवमाया तुम्बाहाम्फे, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत अन्य मन्त्री तथा नेताहरुले दैनिक अवलोकन गर्दै आएका छन् । फागनु १० गतेसम्म सञ्चालन हुने एक्स्पोमा ३ सय ४० वटा स्टल एक्स्पोमा रहेको छ ।