विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफू प्रदेश सरकारको निरिह मन्त्री भएको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयको लागि आगामी वर्षमा विनियोजन भएको बजेटका सम्वन्धमा उठेका प्रश्नको जवाफ दिने क्रममा बिहीबार प्रदेशसभामा मन्त्री घिमिरेले आफू पहुँचवाला मन्त्री नभएको बताउनुभएको हो ।
सामाजिक विकास मन्त्रालयले मन्त्रीको निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रीत गरेको र विनियोजनले क्षेत्रीय असन्तुलन कायम गरेको भन्दै सांसदहरुले टिप्पणी गरेपछि मन्त्री घिमिरेले आफू निरिह मन्त्री भएको बताउनुभएको हो । ‘यहाँ निर्वाचन क्षेत्रको कुरा उठेको छ, म पहुँचवाला मन्त्री हो कि निरिह मन्त्री हो ? तपाईहरुले हेरिदिनुहोस्,’ मन्त्री घिमिरेले भन्नुभयो ‘तपाईहरुले हेक्का राखिदिनुहोस्, म जनताको नजरमा कुनैपनि कसीमा जाँचिन तयार छु ।’
मन्त्री घिमिरेले नीति कार्यक्रम अनुरुप नै बजेट विनियोजन भएको स्पष्ट पार्नुभएको छ । बजेट समान, समावेशी र समानुपातिक रुपमा वितरण हुनुपर्छ भनेर जीवनभर संघर्ष गरेको व्यक्ति भएकोले पनि विनियोजन असन्तुलित बनाउने प्रश्नै नभएको उहाँको भनाई थियो । उहाँले बजेट विनियोजन गर्दा वर्गीय पक्षधरतालाई ख्याल गरिएको जिकिर गर्नुभयो । उहाँले प्रदेश सरकारको बजेट आफ्नो निर्वाचन क्षेत्रभन्दा धेरै विपक्षी दल नेपाली काँग्रेसका नेता राजिव कोइरालाको क्षेत्रमा गएको बताउनुभयो ।
बिहीबारको बैठकमा यसअघि शुन्य समयमा उठेका प्रश्नहरुको जवाफ दिँदै भूमि व्यवस्था कृषि तथा सहकारी विकास राज्यमन्त्री राम राना मगरले हिउँदे खेतीको समयमा किसानलाई आवश्यक मात्रामा युरिया मल उपलव्ध गराउन नसकेको बताउनुभयो । उहाँले धानखेतीका लागि आवश्यक पर्ने डिएपी र पोटास मल केही मात्रामा रहेको तर युरिया भने अहिले उपलव्ध नभएको जानकारी दिनुभयो । युरिया कलकत्ता बन्दरगाह र काङ्ला बन्दरगाहमा आइपुगेको र साउन लागेपछि उपलब्ध हुने उहाँको भनाइ थियो ।
मन्त्री मगरले केही समयदेखि निकासी हुन रोकिएको चिया, कुचो, अलैंची, अदुवा आदिको निकासी खुलेको जानकारी दिनुभयो । बैठकको शुन्य समयमा आपूmहरुको कुरा सरकारले नसुनेको भन्दै प्रदेशसभा सदस्य कला घलेले कान थुनेर बोल्नुभयो । उहाँले सरकारले जनताको कुरा पटक–पटक वेवास्ता गर्ने र नसुन्ने प्रवृत्ति देखाएको भन्दै कान थुनेर बोल्नुभएको हो ।
बिहीबारको बैठकमा उहाँले सरकार कामकाजी हो वा नामकाजी मात्र हो भनि प्रश्न गर्नुभएको थियो । कटारी ११ स्थित निर्माणाधीन महाभारत एकीकृत पर्यटन पार्कको पेस्की रकम निकासा नगरेको र जेठ १३ गते उदयपुरको ताप्ली २ मा गएको हावाहुरी पीडित किसानहरुलाई क्षतिपुर्ति दिने विषयमा सरकारले वेवास्ता गरेको भन्दै उहाँले विरोधमा कान थुनेर बोल्नु भएको हो । प्रदेशसभाको बैठकमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको बजेटमाथि सांसदहरुले धारणा राखेका छन् ।