तत्कालिन नेकपा माओवादीको जनयुद्ध चलिरहँदा माओवादी र प्रहरीसँग मेरो उत्तिकै सम्पर्क र सम्बन्ध थियो । त्यो दुईको विश्वास जोगाउन र आफू जोगिनु मेरा लागि चुनौतिको विषय थियो । माओवादीका सबै कुराहरुलाई समर्थन गर्न नसकेपनि जनजीविका र जनताका पक्षमा गरिएका कतिपय विषयप्रति समर्थन नै थियो । त्यही हुनाले माओवादी नेता कार्यकर्ता पक्राउ पर्दा र उनीहरुलाई छुटाउँदा पनि धेरै ठाउँमा म पुगेको थिएँ । कतिपय अवस्थामा प्रहरीले पनि अपहरित सुरक्षाकर्मीको जिउज्यान बचाउनका लागि मलाई अनुरोध गरिरहेका हुन्थे । कठिन पहाड होस् या तराई, धेरै ठाउँमा पुगेर घटना भएको स्थलगत अनुगमन गर्ने र नियन्त्रितहरुलाई मुक्त गर्ने अभियानमा पत्रकारको हैसियतमा म सहभागी भएको थिएँ ।
जनविद्रोह पत्रिकाका तत्कालिन सम्पादक तथा अहिलेका नेकपा मोरङका सचिव गणेश उप्रेतीलाई यातना दिँदा पनि मैले सञ्चारमाध्यमबाट आवाज उठाइरहेको थिएँ ।
यही जगबाट एउटा पत्रिका जनविद्रोह सुरु भएको थियो । तत्कालिन मोरङको पूर्वतिर यसको कार्यालय थियो । धेरै पटक त्यस कार्यालयबाट फोन आइरहन्थो । तत्कालिन माओवादीका सचिव ईश्वर ढुंगाना पनि यसमा जोडिएका थिए । मैले चिनेका धेरै साथीहरु थिए ।
एउटा आन्दोलनको जगमा उभिएको जनविद्रोह जनआन्दोलन र शान्तिप्रक्रियापछि खुल्ला रुपमा आयो । त्यतिखेर आन्दोलनामा पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको मैले महसुस गरिरहेको छु । तर, आज नेपाल जनयुद्ध र जनआन्दोलनको जगमा शान्ति प्रक्रियामार्फत संविधानसभाको चुनाव हुँदै गणतान्त्रिक मुलुकका रुपमा स्थापित भएको छ । अब हाम्रो पत्रकारिता मिसनकारिताबाट विकास समृद्धितर्फ लम्किरहेको छ ।
राज्यले लिएको सुखी नेपाली र समृद्ध नेपालको एउटा अभियानमा आलोचनात्मक चेतसहित आजको पत्रकारिता अगाडि बढाउनु जरुरी भएको छ । पुराना विरासतहरुको स्मरण गरी इतिहासमा त्यसको मूल्यांकन गर्दै जनविद्रोहले आजदेखि हाम्रो मत नाममा पत्रकारिताको नयाँ अभ्यास सुरु गरेको छ । म शुभकामना दिन चाहान्छु । मलाई लाग्छ, यो जनयुद्ध र जनआन्दोलनको फ्युजनबाट उत्पन्न भएको जनताको एउटा महत्वपूर्ण प्लेटफर्म हुनेछ ।
हरेक जनताले यो आफ्नो पत्रिका भएको महसुस गर्नेछन् र सत्तासिनहरु यसका माध्यमबाट सधै सचेत रहनेछन् । विचार र वादभन्दा माथि उठेर यसले काम गर्न सकोस्, शुभकामना !