आत्महत्या गरको छ दिनपछि कोरोना पुष्टि

काठमाडौं । बाजुराको क्वारेन्टिनमा आत्महत्या गरेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरेका थिए ।

अत्महत्या गरेकै दिन स्वाब संकलन गरिए पनि बिहीबार मात्र उनमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालका अनुसार उनी ६ जनाको परिवारसहित २८ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

शुक्रबार साँझ साढे ८ बजेतिर डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो । आत्महत्याको कारण अझै खुलेको छैन ।

आत्महत्यापछि उनको शवलाई क्वारेन्टिनभन्दा केही तल खोला नजिक व्यवस्थापन गरिएको थियो । आत्महत्या भए पनि कोरोना हुन सक्छ भन्ने आशंकामा पुरै प्रकृया पूरा गरेर शवको व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

बिगत २४ वर्षदेखि भारत बस्दै आएका उनी श्रीमती र छोराछोरीसँगै नेपाल फर्किएका थिए । अहिले उनको परिवारका सदस्यहरु क्वारेन्टिनमै बसिरहेका छन् ।

शुक्रबार, ०५ असार, २०७७, बिहानको ०९:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर