कोरोना संक्रमणका कारण थप दुईको मृत्यु

आत्महत्या गरेका २ जनामा पनि कोरोना पुष्टि

काठमाडौं। कोरोना भाइरसको संक्रमणका कारण कैलालीका दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।

गोदावरी नगरपालिका ४ का ४६ बर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचाररको क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि धनगढीकै नवजिवन अस्पतालमा उपचार गर्न गएका उनमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । लगतै उनलाई प्रादेशिक अस्पताल सारिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रादेशिक स्वस्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बताउनुभयो ।

यस्तै लम्कीचुहा नगरपालिका २ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । टाउकोमा लागेको चोटका कारण आइतबार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएकोमा उनको सर्जरी गर्नुअघि पीसीआर टेष्ट गरिएको थियो । मंगलबार मृत्यु भएकोमा बुधबार साँझ उनको रिपोर्ट पोजेटिभ आएको हो ।

यसैबीच आत्महत्या गरेका अर्घाखाँचीको शितगंगा नगरपालिका ५ का एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेका उनले मंगलबार राति रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।

जेठ २५ गते नै पीसीआर परीक्षणका लागि स्वाबको नमुना संकलन गरेर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएकोमा ११ दिनपछि उनको रिपोर्ट पोजेटिभ आएको हो । उनी भारतको पञ्जाबबाट आएर क्वारेन्टिनमा बसेका थिए । उनको शव नेपाली सेनाको टोलीले जंगलमा व्यवस्थापन गरेको छ ।

यस्तै सुर्खेतमा झुण्डिएर मृत अवस्थामा भेटिएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका ८ कि २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो ।

बिहिबार, ०४ असार, २०७७, बिहानको ०८:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर