विराटनगर । विराट मेडिकल कलेज विराटनगरमा युरोगाइनोकोलोजीष्ट हरुको दक्षिणी एसिया स्तरको सम्मेलन हुने भएको छ ।
नेपालमा युरोगाइनोकोलोजी विषयमा पहिलो पटक फागुन ९ र १० गते अन्तराष्ट्रिय स्तरको साउथ एसियन फेडरेसन अफ युरोगाइनोकोलोजी (साफग) आयोजना हुन लागेको कलेजले जनाएको छ ।
अस्पतालका अध्यक्ष डा.ज्ञानेन्द्रमानसिंह कार्कीका अनुसार सम्मेलनमा दक्षिण एसियाका विभिन्न देशका १ सय ५० वरिष्ठ गाइनो विशेषज्ञ चिकित्सक उपस्थित हुनेछन् । सम्मेलनमा दक्षिण एसियाबाहेक बेलायत, अमेरिका, अस्ट्रेलिया र सिङ्गापुरबाट पनि विशेषज्ञ आउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
सम्मेलनमा सहभागी चिकित्सकले २ दिनमा सम्बन्धित २० जना बिरामीको शल्यक्रियासमेत गरेर अनुभव आदानप्रदान गर्नेछन् । बिरामीको छनोट भइसकेको र उनीहरूको शल्यक्रिया तथा उपचार निःशुल्क हुने अध्यक्ष डा.कार्कीले जानकारी दिनुभयो ।
बिरामीमध्ये योनि नै नभएका महिला, पिसाब चुहिने, पिसाब नलीमा पिसाब रोकिनेलगायतका समस्या रहेको बताइएको छ । चिकित्सकहरूले प्रमाणका आधारमा वैज्ञानिक खोजमूलक अनुसन्धान तथा उपलब्धिका विषयमा प्रकाशन र आफ्ना अनुभवको आदानप्रदान गर्नु सम्मेलनको उद्देश्य रहेको कार्कीले बताउनुभयो ।
कार्कीले नेपालमा पहिलो पटक स्वास्थ्य क्षेत्रका अन्तर्राष्ट्रिय विशिष्ठ प्रतिनिधिको आगमनले चिकित्सा पर्यटनको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने अपेक्षा गरिएको जानकारी दिनुभयो । ‘नेपालमा मेडिकल टुरिजमको विकासका लागि यस्ता कार्यक्रमले मद्दत गर्छ,’ उहाँले भन्नुभयो, ‘वर्षौदेखि रोगसँग लडिरहँदा पनि निको नभएर पीडित बनेका महिलाले पनि सहज र निःशुल्क उपचार पाउनेछन् ।’
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उद्घाटन गर्ने तय भएको सम्मेलने प्रतिबद्धतासहितको श्वेतपत्रसमेत जारी गर्ने कार्यक्रम रहेको छ ।