चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सारिएका संक्रमितको मंगलबार विहान मृत्यु भएको हो ।
मृतकको शव भरतपुर अस्पतालको आईसीयूमै छ । भरतपुर महानगरपालिका ११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुट र निमोनियाको समस्यासमेत थियो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले आफूहरुले बिरामी नसार्न भन्दाभन्दै सारिएको र बिरामी ल्याउँदासमेत सावधानी नअपनाएको बताउनुभयो ।
यसैबीच मृत्यु भएका कोरोना संक्रमित वृद्धको मंगलबार अन्त्येष्टि गरिएको छ । भरतपुर महानगरपालिका– ११ का ती वृद्धको देवघाट जाने सडकको बाँयातर्फ नारायणी नदी किनारको खयरघारीमा उनको अन्त्येष्टि गरिएको हो ।
परिवारको सल्लाह अनुसार शवलाई खाल्डो खनेर गाडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भरतपुर अस्पतालको आईसीयूबाट नेपाली सेनाको टोलीले उनको शव उठाएको थियो । शवको अन्त्येष्टिमा उनका ज्वाई सहभागी भएको जनाइएको छ ।
हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक, कैलालीका एक, डोल्पाका एक, स्याङ्जाका एक र यो गरी १५ जनाको मृत्यु भएको छ ।