कोरोना भाइरस फैलिएपछि जोखिमा रहेका नेपालीहरुलाई चीनको वुहानबाट उद्धार गरेर भक्तपुरको खरिपाटीमा राखिएको छ । यो भाइरस १४ दिनसम्म देखिने संभावना रहेकोले उच्च सतर्कतासहित उनीहरु सबै १ सय ७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । पछिल्लो परीक्षणमा सबैजना सुरक्षित रहेको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी उनीहरुका आफन्त मात्र नभएर आम नेपालीको लागि पनि सुखद् खबर हो । एकपछि अर्को व्यक्तिमा तीब्र रुपमा फैलिएर १५ सय बढि चिनिया नागरिकको ज्यान लिइसकेको यो भाइरसले हजारौंलाई संक्रमित बनाएको छ । यो भाइरसको असर चिन मात्र नभएर अन्य मुलुकमा पनि फैलिएको छ । तर, नेपालमा अहिलेसम्म यसको संक्रमण नदेखिनु सुखद् पक्ष हो । किनकी नेपालमा यो संक्रमण फैलिएमा नेपालको रोकथामको क्षमता कमजोर रहेकोले आम नागरिक नै आतंकित छन् ।
वुहानबाट फर्किएका सबैको नाक र घाँटीभित्रको नमूनाहरू परीक्षण गरिएकोमा सबैमा कोरोना भाइरस (कोभिड–१९) नभएको पुष्टि मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गरेको परीक्षणका क्रममा सबैमा कोभिड–१९ नकरात्मक देखिएको हो । वुहानबाट ल्याइएकाहरूलाई भक्तपुरमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र खरिपाटीमा राखिएको छ । उद्धार गरिएकाहरू सबैको क्वारेन्टाइनमा राखिएको चौधौँ दिनमा पुनः परीक्षण गरिनेछ । चीनबाट फर्किएका नेपालीहरू कसैमा पनि संक्रमण नदेखिएकाले त्रसित नहुन मन्त्रालयले आग्रहसमेत गरेको छ । अहिलेसम्म नेपालमा २ सय १० जनामा कोभिड–१९ परीक्षण गरिएकोमा एक जनामा मात्रै पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । पोजेटिभ देखिएका व्यक्ति पनि स्वस्थ्य भएर घर फर्किएका छन् ।
नेपाल भ्रमण वर्ष चलिरहेको बेला चिनमा फैलिएको कोरोना भाइरसले त्यसलाई प्रभावित बनाएको छ । किनकी नेपाल भ्रमणमा धेरै चिनिया पर्यटकहरु पनि आउने अपेक्षा गरिएको थियो । चिनिया पर्यटक प्रभावित भएपनि अन्य मुलुकका पर्यटक आकर्षित गर्न नेपालमा कोरोनाको प्रभाव छैन भन्ने सन्देश विश्वभर दिनसक्नु सकारात्मक पक्ष हो । विश्वभर कोरोनाको संक्रमण फैलिएको बेला नेपालमा कुनै समस्या नरहेको सन्देश प्रबाह हुन सकेमा पर्यटकहरु आउन सहज हुनेछ । नेपाल कोरोनामुक्त रहेको र भ्रमणका लागि सुरक्षित रहेको सन्देश दिनसक्नुपर्छ । चीनले आफूलाई कोरोनाबाट सम्पूर्ण रूपमा मुक्त भएको घोषणा नगरेसम्म चिनियाँ पर्यटक भने आउने छैनन् ।
चीनबाट पर्यटक नआउँदा भएको घाटा बाह्य मुलुकबाट पूर्ति गर्नेगरी सरकारले आवश्यक प्रचारप्रसार र अन्य तयारीको काम गर्नुपर्छ ।