विभेदविरुद्धको आन्दोलन विश्वमा फैलिँदै : अमेरिका, युके र अस्ट्रेलियामा ठूला प्रदर्शन

एजेन्सी । अमेरिकाभरि शनिबार पनि जातीय विभेद र प्रहरी क्रूरताविरुद्धको प्रदर्शन जारी रहेको छ।

प्रहरी नियन्त्रणमा रहेका अश्वेत पुरुष जोर्ज फ्लोइडको मृत्युपछि सुरु भएको प्रदर्शनको शनिवार बार्‍हौँ दिन हो।

जातीय विभेदविरुद्धको प्रदर्शन विश्वका अन्य भागमा पनि फैलिएको छ।

यूके र अस्ट्रेलियामा कोरोनाभाइरसका जोखिम रहँदा रहँदै पनि ठूलो सङ्ख्यामा मानिसहरू प्रदर्शनमा सहभागी भएका छन्।

वाशिङ्टनमा विशाल प्रदर्शन

अमेरिकाको राजधानी वाशिङ्टनमा अहिलेसम्मकै ठूलो प्रदर्शनमा दशौँ हजार मानिसहरू सहभागी भएका छन्।

प्रहरीले अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस पुग्ने सबै बाटोहरू बन्द गरेको छ।

वाशिङ्टनमा शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई मेयर मुरिअल बाउसरले स्वागत गर्दै प्रदर्शनले राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा सन्देश दिएको बताएका छन्।

बाउसरले सङ्घीय सुरक्षा बलमा जवानहरू र न्याश्नल गार्ड सैनिकहरूलाई वाशिङ्टन सहरबाट हटाउन माग गरिन्।

गएको सोमवार राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउस नजिकैको चर्चसम्म जान बाटो खोल्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो। ट्रम्पले वाशिङ्टनमा सैनिक परिचालन गरेका छन्।

न्यूयोर्क र शिकागो पनि ठूला प्रदर्शन

न्यूयोर्क, शिकागो र सान फान्सिस्कोमा पनि ठूला प्रदर्शनहरू भएका छन्।

फ्लोइडको जन्मस्थल नर्थ क्यारोलिनामा भने मानिसहरूले उनलाई श्रद्धान्जली प्रकट गरेका छन्।

न्यूयोर्कमा प्रदर्शनकारीहरूले ब्रुकलिन ब्रिज पार गरे भने शिकागोमा गोल्डन गेट ब्रिज केही समयका लागि बन्द गरे।

निहत्था फ्लोइडको मे २५ मा मिनियापलिसमा प्रहरी नियन्त्रणमा मृत्यु भएको थियो। भिडिओहरूमा एक श्वेत प्रहरी अधिकृतले झन्डै नौ मिनेट घुँडाले भुइँमा लडाइएका फ्लोइडको घाँटी थिचेको देखिन्छ।

घाँटी थिचेका प्रहरीलाई हत्थाको अभियोग लगाइएको छ भने त्यहाँ रहेका अन्य तीन प्रहरीलाई हत्यामा सहयोग गरेको अभियोग लगाइएको छ। उनीहरू चारै जनालाई बर्खास्त गरिएको छ।

यूकेमा हजारौँको प्रदर्शन

यूकेभरि हजारौँ मानिसहरूले जातीय विभेदविरुद्धको प्रदर्शनमा सहभागिता जनाएका छन्।

लन्डन, म्यानचेस्टर, कार्डिफ र शेफिल्ड लगायतका सहरहरूमा प्रदर्शन भएका छन्।

लन्डनमा एक मिनेटको मौनधारणपछि प्रदर्शनकारीहरूले नारा लगाउन सुरु गरेका थिए।

दिनभरि प्रदर्शन शान्तिपूर्ण रहे पनि बेलुकी प्रधानमन्त्री निवास नजिकै भने केही हिंसा भएका छन्।

बीबीसी सम्वाददाता टम साइमन्ड्सका अनुसार प्रहरीतर्फ प्रदर्शनकारीले पट्का प्रहार गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन घोडा प्रयोग गरेका थियो।

एक घोडचडीको टाउको ट्राफिक बत्तीमा ठोक्किएपछि उनी खसेको बताइएको छ। उनलाई सामान्य चोट लागेको छ।

त्यहाँबाट प्रहरीले १४ जना गिरफ्तार गरेको र १० जना प्रहरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

अस्ट्रेलियामा पनि प्रदर्शन

अस्ट्रेलियाभरि हजारौँ मानिसहरूले जातीय विभेदविरुद्धको प्रदर्शनमा सहभागिता जनाएका छन्।

त्यहाँ कोरोनाभाइरस जोखिमको बारेमा चेतावनीलाई वेवास्ता गर्दै प्रदर्शन गरिएका हुन्।

सिड्नीमा अन्तिम समयमा मात्रै प्रतिबन्ध हटाइएको र केही आयोजकलाई स्वास्थ्य नियम तोडेकोमा जरिवाना गरिएको छ।

फ्लोइडको घटनाले प्रेरित भए पनि त्यहाँ अदिवासी नागरिकप्रतिको भेदभावविरुद्ध प्रदर्शन गरिएको हो।

ब्रिस्बेन, मेलबर्न, होबर्ट र अन्यत्र विरोध प्रदर्शन गरिएका छन्।

– बिबिसी

आइतबार, २५ जेठ, २०७७, दिउँसोको ०४:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर