विराटनगर । क्रिस लिनको पहिलो अर्धशतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर–१ खेल्ने पक्का गरेको छ ।
लगातार ६ खेल जितेर १२ अंक जोडेको अपराजित सुदूरपश्चिम शीर्ष दुईमा रहँदै क्वालिफायर–१ मा प्रवेश गरेको हो ।
बिहिबारको हारसँगै हारसँगै चितवनको प्लेअफ सम्भावना कमजोर बनेको छ भने विराटनगरले प्लेअफ खेल्ने पक्का भएको छ।
जम्मा ६ खेलबाट जम्मा ४ अंक रहेको चितवन छैटौं स्थानमा छ । चितवन पराजित भएपछि ६ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको विराटनगर किंग्स एक खेल बाँकी छँदै प्लेअफमा प्रवेश गरेको हो ।
अब अंकतालिकामा चितवन, पोखरा, कर्णाली, जनकपुर वा ललितपुरमध्ये कुनै पनि टिमले विराटनगरलाई भेट्न नसक्ने भएपछि विराटनगरले प्रत्यक्ष फाइदा पायो । बिहीबार पोखरा एभेन्जर्स र चितवन दुवैको हारसँगै लुम्बिनी लायन्सलाई पनि फाइदा पुगेको छ । लुम्बिनीले शुक्रबार जनकपुरलाई पराजित गर्न सकेमा प्लेअफमा प्रवेश गर्नेछ ।
बिहीबार सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमै सबै विकेट गुमाएर १२० रनमा अलआउट भयो । चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाए । देव खनालले २८, ओपनर अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन जोडे ।
चितवनलाई समेट्न सुदूरपश्चिमका पुनित मेहराले २.१ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेले १–१ विकेट जोडे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले क्रिस लिनको अर्धशतकको बलमा २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको थियो । नियमित ओपनर जोश ब्राउनलाई आराम दिइएपछि विनोद भण्डारीसँग ओपनिङ गरेका लिनले ५६ बलमा ५ चौका र ३ छक्कासहित ७५ रन बनाए । उनी १७औँ ओभरपछि रिटायर भएका थिए ।
लिनले पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४६ रनको साझेदारी गरे भने पाँचौँ विकेटका लागि आरिफ शेखसँग ४५ रन जोडे । आरिफ शेख र कप्तान दीपेन्द्र सिंह ऐरी दुवै अविजित रहँदै २४–२४ रनमा पुगे । कप्तान दीपेन्द्रले १४ बलमा २ छक्का प्रहार गरे भने आरिफले १६ बलमा २ चौका र १ छक्का लगाए । विनोद भण्डारीले २१ र पुनित मेहराले १३ रन थपे ।
चितवनका सैफ जैबले २ विकेट लिए भने रन्जित कुमार र जर्ज स्मृक्शले १–१ विकेट लिए ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!