विराटनगर । मोरङको टंकिसिनवारीस्थित विराट टिचिङ अस्पतालको मनोचिकित्सा तथा मानसिक स्वास्थ्य विभागले दक्ष मानसिक रोग विशेषज्ञसहित कडा र जटिल खालका मनोरोगी र सबैखाले लागुऔषध दुर्व्यसनको दिगो उपचारका लागि आफ्नै पुनर्वास केन्द्र सञ्चालनमा ल्याउने भएको छ।
हालसम्म रक्सी, गाँजा, ब्राउनसुगर र मेडिकल ड्रग्सहरू (ट्याब्लेट र सुई) आदि सेवन गर्ने निर्भर व्यक्ति र कडा तथा जटिल खालका मनोरोगीहरूको दिगो उपचार गरेर समाजमा पुनर्स्थापना गराउनका लागि विराट टिचिङले आफ्नै ‘रिकभरी एन्ड वेलनेस (पुनर्वास) केन्द्र’ सुरु गर्न लागेको हो ।
मानसिक विभागका प्रमुख विशेषज्ञ मनोचिकित्सक प्रोफेसर डाक्टर नवराज कोइरालाका अनुसार, विराट अस्पतालमा सञ्चालन हुने लागुऔषध पुनर्स्थापना केन्द्रमा मनोरोग विशेषज्ञ, मनोचिकित्सक नर्स, व्यावसायिक विशेषज्ञ, क्लिनिकल मनोवैज्ञानिक र विभिन्न चिकित्सा अधिकारीको टोलीले सुविधा दिनेछ ।
रक्सी, गाँजा, केमिकल र मेडिकल ड्रग्स आदि सबैखाले लागुऔषधमा निर्भर रहेका व्यक्तिहरूको ओपिडी र आवासीय उपचार गर्दै आएको विराट अस्पतालले, लामो समय औषधि र मनोचिकित्सकीय हेरचाह आवश्यक पर्ने तथा लामो समयसम्म अस्पतालमा बस्न इच्छुक बिरामीका लागि पुनर्वास केन्द्रमा भर्ना गराउनेछ। उनीहरूले माछा मार्ने, खेती गर्ने, बगैंचा बनाउने, खाना पकाउने, फर्निचर/सिकर्मी, नृत्य, गायन र अन्य व्यावसायिक तथा विभिन्न सीपमूलक तालिम पनि प्राप्त गर्नेछन्। मनोरोग विशेषज्ञ डा. कोइरालाका अनुसार अस्पतालको पुनर्वास केन्द्रमा भर्ना भएका बिरामीहरूलाई कुरुवा (अलग्गै परिचारिका) को आवश्यकता पर्दैन ।
पुनर्वास केन्द्रमा बसेर उपचार गराउनेहरूलाई महँगो शुल्क नलाग्ने र यत्रतत्र मापदण्ड पूरा नगरी अव्यवस्थित रूपमा सञ्चालन भइरहेका सुधार केन्द्रहरूकै हाराहारीमा मात्र उपचार खर्च लाग्नेछ । पुनर्वास केन्द्र पूर्ण सुरक्षित, सफा र आधुनिक सुविधायुक्त हुनेछ ।
मनोचिकित्सकहरूका अनुसार अझैसम्म धेरै दुर्व्यसनी र उनीहरूका अभिभावकहरूलाई लागुऔषधको उपचार अस्पतालमा चिकित्सकहरूबाट हुन्छ भन्ने जानकारी छैन । यसैले धेरैले उपचार गराउन भन्दै मापदण्ड पूरा नगरी अव्यवस्थित रूपमा सञ्चालन भइरहेका सुधार केन्द्रमा महँगो शुल्क तिरेर भर्ना गराउँदै आएका छन्। कतिपय सुधार केन्द्र नाम मात्रको हुने गरेकोले यातना केन्द्र बन्ने गरेका छन् ।
यसैगरी, विराट मेडिकल अस्पतालको मानसिक विभागमा एक हजार शुल्क तिरेर जो कोहीले कुनै लागुपदार्थ सेवन गरे/नगरेको परीक्षण गराउन सक्नेछन् ।
मोरङको बुढीगंगा गाउँपालिका–२, टंकिसिनवारीमा रहेको विराट मेडिकल कलेजले मानसिक रोग विभागमा सबैखाले दुर्व्यसनी र मनोरोगीहरूको अन्तरंग र बहिरंग दुवै प्रकारको सेवा प्रदान गर्दै आएको छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!