उद्योगले चाहेअनुरूपको जनशक्ति नपाउनु मुख्य चुनौती

उद्योगले चाहेअनुरूपको जनशक्ति नपाउनु मुख्य चुनौती

विराटनगर । उद्योग व्यवसाय क्षेत्र र श्रम बजारको आवश्यकताबीच तालमेल नहुँदा उद्योगहरूले चाहेअनुरूपको जनशक्ति पाउन नसकेको विषयलाई सरोकारवालाहरूले मुख्य चुनौतीका रूपमा औंल्याएका छन् ।

उद्योग संगठन मोरङ र नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजनाको सहकार्यमा दक्ष जनशक्ति उत्पादन, सीप परीक्षण तथा पूर्व सिकाइको मान्यता विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले यो समस्या समाधानमा जोड दिएका हुन् ।

कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले व्यवहारिक सीपको महत्व बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा उद्योगले खोजे अनुसारको जनशक्ति नपाउनु ठूलो चुनौती रहेको बताए । ‘रोजगारी खोज्ने व्यक्तिको सीप र उद्योगले खोजिरहेको सीपबीच ठूलो खाडल छ,’ अध्यक्ष राठीले भने, ‘यो खाडल पुर्न सीपको प्रभावकारी मूल्याङ्कन तथा प्रमाणिकरणमार्फत उद्योगलाई आवश्यक दक्ष जनशक्ति विकास गर्नु हामी सबैको साझा दायित्व हो ।’ उनले धेरै जनशक्तिसँग व्यवहारिक सीप भए पनि औपचारिक प्रमाणपत्र नहुँदा समस्या भइरहेको बताउँदै पूर्व सिकाइको मान्यताले यस्ता सीपलाई औपचारिक स्वीकृति दिलाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

सोही अवसरमा संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छाले उद्योग व्यवसाय, सीप विकास र श्रम बजारबीचको सम्बन्धलाई अझ मजबुत बनाउन आवश्यक रहेको बताए । उनले दक्ष जनशक्ति विकासले मात्र प्रतिस्पर्धी र सक्षम औद्योगिक वातावरण निर्माणमा सहयोग पुग्ने धारणा राखे ।

अर्का उपाध्यक्ष विपिन कावराले लामो अनुभव र अभ्यासबाट सीप हासिल गरेका धेरै श्रमिकहरू औपचारिक प्रमाणपत्र नहुँदा अवसरबाट वञ्चित भइरहेको अवस्थालाई चित्रण गरे । उनले भने, ‘सीप परीक्षण र पूर्व सिकाइको मान्यताले यिनै अनुभवी श्रमिकलाई औपचारिक पहिचान दिलाएर उनीहरूको क्षमतामा नयाँ ऊर्जा थप्नेछ ।’

नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजनाका प्रमुख सुभाष घिमिरेले श्रम बजारमै आधारित सीप प्रणाली विकास गर्नु आजको आवश्यकता भएको औंल्याए । अनुभवलाई औपचारिक मान्यता दिने र उद्योगमैत्री सीप परीक्षण विस्तार गर्ने कार्यमा निजी क्षेत्रको सक्रिय सहभागिता अत्यावश्यक रहेको बताउँदै घिमिरेले भने, ‘सीप विकासमा केन्द्रित संस्थाहरूबीच सहयोग सुदृढ भएमा स्थानीय तहमै रोजगारी सिर्जना र उत्पादकत्व अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्नेछ ।’

कार्यक्रममा सहभागी उद्योगी व्यवसायी, ट्रेड युनियन, इन्स्योर परियोजना, एनभिक्यूएस तथा पेशागत संगठनका प्रतिनिधिहरूले उद्योगका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन र सीप परीक्षण प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि सामूहिक प्रयासमा जोड दिएका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्