पूर्वाञ्चल विश्वविद्यालयको डीन कार्यालय स्थानान्तरण विवादमा तालाबन्दी

पूर्वाञ्चल विश्वविद्यालयको डीन कार्यालय स्थानान्तरण विवादमा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको डीन कार्यालय विरानगरबाट गोठगाउँस्थित केन्द्रीय कार्यालयमा सार्ने तयारी भएपछि त्यसको विरोध भएको छ ।

डीन कार्यालय सार्ने तयारी भएपछि त्यसको विरोधमा नेपाली कांग्रेस, तरुण दल र नेपाल विद्यार्थी संघले तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा छ भने डिन कार्याललय विराटनगर–१ को जनता क्याम्पस परिसरबाट सञ्चालन हुँदै आएको छ । कला, कानुन तथा शिक्षा संकाय, विज्ञान तथा प्रविधि संकाय, इञ्जिनियरिङ संकाय र व्यवस्थापन संकायका डिन कार्यालयको कारण क्याम्पसले कक्षाकोठाको अभावका खेपिरहेको बेला विश्वविद्यालयले डिन कार्यालय केन्द्रीय कार्यालय परिसरमै सार्न लागेको हो ।

विश्वविद्यालयले केन्द्रीय कार्यालयकै अंगका रूपमा रहेका डिन कार्यालय क्रमशः गोठगाउँ सार्ने निर्णय गरेको छ । तर, सामान सार्ने तयारीसँगै जनता क्याम्पसको मूल प्रवेशद्वार र डीन कार्यालयको ढोकामा तालाबन्दी गरिएको छ ।

तालाबन्दी कांग्रेसका स्थानीय नेता कृष्ण कार्की, तरुण दलका नेता विमल भट्टराईसहितले गरेका हुन् । उनीहरूले यो निर्णय विद्यार्थी र स्थानीयको सहमतिबिना लिइएको भन्दै विरोध जनाएका छन् । क्याम्पस प्रशासनले भने त्यसलाई ‘अनावश्यक राजनीतिक हस्तक्षेप’ भनेको छ ।

उपकुलपति डा.बिजु थपलियाले केन्द्रीय कार्यालयका अंग भएका कारण डिन कार्यालय क्रमशः गोठगाउँ सार्ने विश्वविद्यालयको नीति छ । विद्यार्थीको चाप र कक्षाकोठाको अभावले क्याम्पसमा पढाइ प्रभावित भइरहेकोले पनि डिन कार्यालय सार्न लागेको उनले बताए । पहिलो चरणमा कला, कानुन तथा शिक्षा संकाय र विज्ञान तथा प्रविधि संकायका कार्यालय सार्न लागिएको छ ।

तालाबन्दीका कारण सामान सार्ने काम रोकिएको छ । डिन कर्मचारी हाजिरी भने अहिले केन्द्रीय कार्यालयमै गर्न थालिएको छ ।

गोठगाउँमा रहेको विश्वविद्यालयको परिसरमा आफ्नै स्वामित्वको ८०५ बिघा जग्गा छ । त्यहाँ विश्वविद्यालयका आवश्यक सबै पूर्वाधार निर्माण गरिको छ भने मेडिकल कलेजसहितका संरचना निर्माण भइरहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्