एमाले विवाद : केन्द्रको निर्देशन कार्यान्वयनमा आलटाल

एमाले विवाद : केन्द्रको निर्देशन कार्यान्वयनमा आलटाल

केन्द्रले महाधिवेशन प्रतिनिधि छनौटको पुनः निर्वाचन गर्न निर्देशन दिएपनि ओखलढंगा र धनकुटामा त्यसको तयारी भएको छैन

विराटनगर । नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनका लागि ओखलढुंगा र धनकुटामा भएको प्रतिनिधि छनोटको प्रक्रिया बदर गरेको पत्र केन्द्रले पठाएको पत्र कार्यान्वयन गर्न जिल्लाले आनाकानी गरेका छन् ।

प्रक्रियासम्मत रुपमा प्रतिनिधि छनौट भएको भन्दै एमालेका ओखलढुंगा र धनकुटाका नेताहरुले केन्द्रले पुनः प्रतिनिधि छनौट गर्न पठाएको पत्र कार्यान्वयन गर्न आनाकानी गरेका हुन् ।

केन्द्रीय कार्यालयले धनकुटामा प्रतिनिधि छनौटका लागि भएको निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी नभएको भन्दै पुनः पारदर्शी ढंगबाट सबै सदस्यलाई सूचना सम्प्रेषण गरेर पालिका स्तरका मतदान केन्द्र व्यवस्थापन गरी पाँच दिनभित्र निर्वाचन गर्न पत्राचार गरेको छ । धनकुटाको प्रतिनिधि छनौटको सहजीकरणका लागि कोशी प्रदेश इन्चार्ज शेरधन राई र धनकुटा इन्चार्ज राजेन्द्र राईलाई तोकिएको छ ।

धनकुटाका एमाले इन्चार्ज राईले प्रतिनिधि खारेज र नयाँ प्रतिनिधि छान्ने विषयमा आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए । ‘मलाई अहिलेसम्म पुनः प्रतिनिधि छान्ने विषयमा जानकारी छैन,’ उनले भने । जिल्ला प्रचार विभाग प्रमुख रविन कट्टेलले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा अन्योल रहेको बताएका छन् ।

जिल्ला कमिटी ओखलढुंगाले सदरमुकाममा बोलाएर गरेको निर्वाचन प्रक्रिया अवैधानिक भएको ठहर गर्दै केन्द्रीय संगठन विभागले ५ दिनभित्र पालिकास्तरमै पुनः निर्वाचन गर्न निर्देशन दिएको छ । त्यसले सदरमुकाममा भएको निर्वाचनबाट आफूहरू विधिवत् रूपमा निर्वाचित भएको दाबी गर्ने पक्ष र पालिकास्तरमै चुनाव हुनुपर्ने माग राख्ने पक्षबीचको टकराव बढेको छ ।

नेकपा एमाले संगठन विभागका प्रमुख काशीनाथ अधिकारीद्वारा हस्ताक्षरित पत्रमा ओखलढुंगाको निर्वाचन अस्वीकार्य भएको उल्लेख छ । पत्रमा भनिएको छ, ‘आम सदस्यहरूको सहजताका लागि ८ मध्ये ६ वटा पालिका कमिटीहरूको माग, बहुसंख्यक उम्मेदवारहरूको असहमति, प्रदेश पार्टी कमिटी र केन्द्रीय संगठन विभागको निर्देशन समेत अवज्ञा गरी सदरमुकाममा सम्पन्न भनिएको त्यस जिल्लाको प्रतिनिधि निर्वाचन स्वीकार गर्न सकिएन ।’

केन्द्रले पालिकास्तरमै मतदान केन्द्रको व्यवस्थापन गरी प्रभावकारी सूचना सम्प्रेषण गरेर ५ दिनभित्र पुनः निर्वाचन गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ । पुनः निर्वाचन प्रक्रियाको सहजीकरणका लागि कोशी प्रदेश इन्चार्ज शेरधन राई, केन्द्रीय नेताहरू विशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारीलाई तोकिएको छ ।

केन्द्रको यो निर्णयप्रति ओखलढुंगाबाट निर्वाचित (हाल बदर गरिएको) भनिएका प्रतिनिधि नेता अम्बिरबाबु गुरुङले असन्तुष्टि जनाएका छन् । उनले १३ गतेभित्र चुनाव सक्ने केन्द्रकै परिपत्र अनुसार जिल्लाले लोकतान्त्रिक विधिबाट चुनाव गराएको दाबी गरे ।

गुरुङले भने, ‘निर्वाचनमा ४१ जनाले आवेदन दिनुभयो, कसैले फिर्ता लिनुभएन । तोकिएको शुल्क तिरेर, मत हालेर, नतिजा आएर प्रमाणपत्र लिइसकेपछि अहिले असहमति भन्न मिल्छ ? खेलमा भाग लिने अनि हारेपछि नियम मान्दिनँ भन्न पाइँदैन ।’ उनले ६ वटा पालिकाले माग गरे भन्दैमा अन्तिम समयमा आएर एकैदिन ८ वटा ठाउँमा चुनाव गराउन प्राविधिक र व्यावहारिक रूपमा असम्भव भएकाले सदरमुकाममा चुनाव गराउनु परेको स्पष्टीकरण दिए । ‘सदरमुकाम पनि त पालिका नै हो, हामीले कसैलाई निषेध गरेका छैनौं,’ गुरुङले भने ।

नेता गुरुङले जिल्ला इन्चार्जहरू किशोर अधिकारी र यज्ञराज सुनुवारले समन्वयकारी भूमिका खेल्नुको साटो समस्या बल्झाएको आरोप लगाए । ‘उहाँहरूले तलका कमिटी र पदाधिकारीसँग समन्वय नगरी माथि–माथि मात्र कुरा गर्नुभयो,’ गुरुङले भने, ‘केन्द्रले पनि विधि पु¥याएर भएको कामलाई बदर गरेर तल्लो तहका कार्यकर्तालाई दुःख दिने काम गर्यो ।’

केन्द्रले निर्वाचन रद्द गरेसँगै ओखलढुंगाको एमाले पंक्ति दुई ध्रुवमा बाँडिएको छ । एउटा पक्ष पुनः चुनावको तयारीमा छ भने अर्को पक्ष (अम्बिरबाबु समूह) काठमाडौंमा आएर नेतृत्वलाई गुहार्दै छ । ‘हामी केन्द्रमै छौं, तोकिएका नेताहरू (शेरधन राईसहितको टोली) ले छलफल गरिरहनुभएको छ । उहाँहरूले जे निष्कर्ष निकाल्नुहुन्छ, पार्टीको इमानदार सिपाही भएको नाताले हामी त्यही मान्छौं,’ गुरुङले भने । एमाले ओखलढुंगाका अध्यक्ष ज्ञानबहादुर खड्काले वैधानिक तरिकाले निर्वाचित प्रतिनिधिको विषयमा के गर्ने भन्ने विषयको टुंगो नलागेको बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्