इम्बोस्ड नम्बर प्लेटको म्याद थप्ने तयारी राष्ट्रियता र जनतामाथिको ‘घात’

इम्बोस्ड नम्बर प्लेटको म्याद थप्ने तयारी राष्ट्रियता र जनतामाथिको ‘घात’

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने सम्झौताको म्याद थप गर्ने कार्य राष्ट्र र जनताको हित विपरित हुने बताएका छन् । उनले म्याद सकिएको विवादास्पद सम्झौतालाई ब्युँताउनु वा म्याद थप गर्नु राष्ट्रियतामाथिको प्रहार र जनतामाथिको लुट हुने चेतावनी दिएका हुन् ।

अमेरिका र बंगलादेशको संयुक्त लगानी रहेको कम्पनी ‘डेकाटोर’ सँग विगतमा भएको सम्झौताको म्याद सकिएपछि पनि वर्तमान अन्तरिम सरकारले पुनः म्याद थप्ने तयारी गरेको समाचार सार्वजनिक भएपछि डा. रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत कडा आपत्ति जनाएका हुन् ।

डा. रावलले उक्त सम्झौतालाई नेपाली जनतामाथि आर्थिक भार थोपर्ने प्रपञ्चको संज्ञा दिएका छन् । इम्बोस्ड नम्बर प्लेट जडानका नाममा जनताबाट असुलिने शुल्क अत्यन्तै महँगो रहेको र यसले जनताको ढाड सेक्ने काम गरेको उनको भनाइ छ। ‘अत्यन्तै महँगो किसिमले नेपालीहरूमाथि लुट मच्चाउने गरी विगतमा भएको सम्झौताको म्याद सकिँदा फेरि म्याद थप्नु जनतामाथिको घात हो,’ रावलले उल्लेख गरेका छन् ।

सरकारी कामकाजको भाषा देवनागरी लिपिमा नेपाली भाषा हुनेछ भन्ने संवैधानिक व्यवस्थाको धज्जी उडाउँदै इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गरिएकोप्रति पनि डा. रावलले आक्रोश व्यक्त गरेका छन् । उनले संविधानको स्पष्ट व्यवस्था र भावना विपरीत विदेशी कम्पनीको स्वार्थमा नेपाली भाषालाई अपमान गरिएको जिकिर गरेका छन् ।

डा. रावलले नेपाली नागरिकका सवारी साधन र व्यक्तिगत विवरणहरू विदेशी कम्पनीको हातमा सुम्पनु राष्ट्रिय सुरक्षाका दृष्टिकोणले गम्भीर त्रुटि भएको औंल्याएका छन् । नेपालीहरूको विवरण विदेशीको पहुँचमा पुर्‍याउने गरी भएको उक्त सम्झौता सुरुदेखि नै विवादित रहँदै आएको छ ।

संसद र सडक दुवै स्थानबाट चौतर्फी विरोध हुँदाहुँदै पनि सरकारले जनआवाजको बेवास्ता गरेकोमा उनले चिन्ता व्यक्त गरे। तत्कालीन सरकारको पालामा भएको भनिएको उक्त सम्झौताको म्याद थप गर्ने सुशीला कार्की नेतृत्वको सरकारले गरेमा त्यो राष्ट्रियता र नेपाली जनतामाथिको गम्भीर धोका ठहरिने डा. रावलको निष्कर्ष छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्