विराटनगर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज (आइतबार) किराँत समुदायले आफ्नो महान् पर्व उँधौली धुमधामका साथ मनाउँदैछन्। पितृको मान र प्रकृतिको सम्मानका रूपमा मनाइने यो पर्वमा नयाँ अन्नबाली पाकेको खुसीयाली साटासाट गरिन्छ।
किराँत समुदायभित्रका विभिन्न जातिले यो पर्वलाई आ–आफ्नै भाषा र शैलीमा मनाउने गरेका छन्। किराँत राईहरूले ‘उँधौली सकेला’, लिम्बूहरूले ‘चासोक तङ्नाम’, याक्खाले ‘चासुवा’ र सुनुवारले ‘फोलस्यादर’का नाममा यो पर्व मनाउँछन्। लिम्बू समुदायले तीन दिनअघि नै चासोक तङ्नाम मनाउन सुरु गरे पनि आज भने किराँत समुदायका सबैले संयुक्त रूपमा उँधौली पर्व मनाउने गर्दछन्।
किराँत संस्कृतिबारे अनुसन्धानरत कीर्तिकुमार दुमी राईका अनुसार किराँतभित्रका जातजातिले मनाउने यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा यो ‘उँधौली’ का नामले चिनिन्छ।
किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनका रूपमा उँधौलीलाई लिइन्छ। उँभौली (वैशाख पूर्णिमा) मा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उँधौलीमा खेतीपाती राम्रो भएकोमा साकेला ९भूमे० लाई धन्यवाद दिने परम्परा रहेको छ।
अनुसन्धाता राईका अनुसार उँभौली र उँधौली पर्वलाई पर्यावरण अनुकूलता र रितु परिवर्तनको सूचकका रूपमा पनि लिइन्छ। जाडो याम सुरु भएपछि लेकबाट बेसी ९तल० झर्ने भएकाले यसलाई ुउँधौलीु र गर्मी सुरु भएपछि बेसीबाट लेक (माथि) उक्लने भएकाले (उँभौली)भन्ने गरिएको हो।
पर्वका अवसरमा आज बिहानैदेखि किराँत समुदायका मानिसहरू जातीय वेशभूषामा सजिएर च्याब्रुङ, ढोल र झ्याम्टाको तालमा धाननाच, चण्डीनाच र साकेला सिली नाच्दै रमाइलो गरिरहेका छन्।
आजकै दिन खस आर्य समुदायले धान्य पूर्णिमा र नेवार समुदायले यः मरि पुन्हि (योमरी पूर्णिमा) मनाउँदैछन्। नाम र तरिका फरक भए पनि नयाँ अन्न बाली भित्र्याएपछि देवी देवतालाई चढाएर खाने तीनवटै पर्वको सार एउटै छ।
आज देशभर सार्वजनिक बिदा छ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!