न्यायाधीशको र्‍याखर्‍याख्तीले इजलासमै कानुन व्यवसायी ढलेपछि…

न्यायाधीशको र्‍याखर्‍याख्तीले इजलासमै कानुन व्यवसायी ढलेपछि…

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार एक दुर्लभ घटना भयो । इजलासबाट निरन्तर सोधिएका प्रश्न र आचरणसम्बन्धी टिप्पणीसँग सामना गर्दै एक युवा कानुन व्यवसायी इजलासमै बेहोस भए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट अधिवक्ता सुलभ खरेल एक व्यक्तिकेन्द्रीत भ्रष्टाचारसम्बन्धी मुद्दामा बहसका लागि उभिएका थिए । उनीसँगै वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई पनि निवेदक पक्षबाट उपस्थित थिए । न्यायाधीशहरूले जेन्जी आन्दोलनको समयमा फेसबुकमा लेखेको विवादित स्टाटसबारे खरेललाई प्रश्न सोध्न सुरु गरे ।

खरेल बहस सुरु गर्न लाग्दै गर्दा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा भएको आगजनीका बेला खरेलले सामाजिक सञ्जालमा लेखेको स्टाटसबारे जिज्ञासा राखे । त्यही प्रसंगमा इजलासका सबै न्यायाधीशहरू आचरण र पेशागत मर्यादाबारे एकपछि अर्को प्रश्न सोधेका थिए ।

खरेलले आफू पहिले नै माफी मागिसकेको र आफ्नो आशय अदालत जलाउनुपर्छ भन्ने नभएको बचाउ गरे पनि प्रश्न रोकिन पाएन । प्रश्न–जवाफकै बीच उनको अनुहार रातोपिरो हुँदै गयो, चिटचिट पसिना आयो र केही मिनेटमै उनी उभिएको ठाउँमै भक्लक्कै लडे ।

‘विद्वान मित्र तपाईं यो इजलासमा बहस गर्न त आउनुभयो । तपाईंलाई याद छ कि छैन, भदौ २४ गते सर्वोच्च अदालतको आगजनीपछि तपाईंले सामाजिक सञ्जालमा के लेख्नु भएको थियो ?’ प्रधान न्यायाधीश राउतको प्रश्न थियो, ‘कानुन व्यवसायीको मर्यादाको विषयमा हेक्का राख्नुपर्छ कि पर्दैन ? तपाईं सर्वोच्च अदालत र नेपाल बारमा आगजनी हुँदा खुसी हुनुपर्ने कारण के हो ?’

त्यसपछि अधिवक्ता खरेल बोल्न सकेनन् । एकपछि अर्को प्रश्न इजलासबाट दोहोरिन थाल्यो । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सामान्यीकरण गर्न खोजे । निरन्तर न्यायाधीशबाट प्रश्न आएपछि अधिवक्ता खरेल उभिएको ठाउँमै ढलेकोमा कानुन व्यवसायीहरुले उठाए र केही शान्त पार्ने कोसिस गरे । उनलाई पानी खुवाएपछि सामान्य भई कुर्सीमा बसे । 

न्यायाधीशको प्रश्नले हतोत्साहित बनेका अधिवक्ता खरेल बसेपछि वरिष्ठ अधिवक्ता भट्टराईले इजलासलाई शान्त बनाउने प्रयास गर्दै थिए । त्यसपछि न्यायाधीश सपना प्रधान मल्लले पुन: प्रश्न गर्दै इजलासबाट भनिन्, ‘हामी न्यायाधीशको जति मर्यादा हुन्छ, त्यति कानुन व्यवसायीको पनि आफ्नो मर्यादा हुनुपर्ने होइन ? भदौ २४ गते कस्तो अवस्था थियो तपाईंहरुलाई थाहा नै छ । न्यायाधीशलाई पार्टीको झोले भनेको छ, अदालत मात्रै जल्यो न्यायाधीशलाई पनि जलाउनुपर्छ भनेर सार्वजनिक रुपमा बोल्दा विचार गर्नपर्छ कि पर्दैन ? यो विषयलाई इतिहासमा लेखाउनुपर्छ भनेर भन्दा हाम्रो न्यायालय कता पुग्छ ? हामी तपाईंको क्षमतामाथि प्रश्न गर्दैनौं, एलएलएम गर्नुभएको छ, राम्रै गर्नुभएको छ । तर त्यस्तो अवस्थामा कानुन व्यवसायीले आफ्नो मर्यादा के हो ? अदालतप्रति आफूले निभाउनुपर्ने भूमिका के हो विचार गर्नुपर्छ कि पर्दैन ?’

न्यायाधीशको लगातारको प्रश्नहरूमा उनले बोल्न सकेनन् । खरेललाई इजलासबाट कानुन व्यवसायीको सहयोगमा बाहिर निकालियो।

खरेलले इजलासबाट निस्किएपछि ब्लड प्रेसर जाँच गराएँकोमा लो प्रेशर हुँदा ढलेको बताएका छन् । न्यायाधीशहरूले सोधेका प्रश्नले आफू असहज बनेको स्वीकार गर्दै उनले केही सञ्चारमाध्यममा आएका फेक समाचारका आधारमा प्रश्न सोधिँदा दुख लागेको बताए ।

भदौ २४ गतेको आन्दोलनका क्रममा सर्वोच्च अदालतमा भएको क्षतिबारे खरेलले फेसबुकमा कठोर टिप्पणी गरेका थिए, जसपछि आलोचना बढेपछि उनले माफी मागेका थिए । खरेल रास्वपासँग निकट मानिन्छन् र जेन्जी आन्दोलन अगाडि तय भएको रुपन्देहीको उपनिर्वाचनका लागि भएको प्राइमरी इलेक्सनमा उनी बलियो दाबेदार पनि थिए ।

उनले लेखेको स्टाटस यस्तो थियो:

सर्वोच्च अदालत जल्दै गर्दा तपाईँको मन रोएको होला, तर मेरो मन एक रत्ती पनि रोएको छैन । नेपाल बार भवन जल्दै गर्दा पनि तपाईँको आँखा रसाएको होला, तर मेरो आँखा एक रत्ती रसाएको छैन । किनकि, त्यही अदालत र त्यही बारमा म शेरबहादुर र केपी ओलीका अनुहारहरू पटक–पटक देख्ने गर्छु । यिनीहरू मेरो आँखामा संवैधानिक चोरहरू हुन् । साँच्चिकै संवैधानिक फटाहाहरू हुन् ।

अदालतलाई कब्जा गर्ने, बारलाई विकृत गर्ने, अनि जनताको अधिकार चुरोटजस्तै चुस्ने, राजनीतिक स्वार्थमा फैसला भनेर आफ्ना देउताको स्वार्थ अनुकूल निबन्ध लेख्ने यी नेतृत्वहरू नै आजको संकटका मुख्य जिम्मेवार हुन् । अब सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीशहरूको तथा नेपाल बार र मातहत बारहरूको सामूहिक राजीनामा माग्दछ र परीक्षाबाट मात्रै न्यायाधीश नियुक्तिको जोडदार माग राख्दछ । अब न्यायालयको भविष्य अवश्य सुलभ खरेलले लेख्नेछ । नेपालको न्यायालयको जय होस् । विकृत न्यायालय एक रत्ती चाहिँदैन ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्