विराटनगर । तत्कालिन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित वामपन्थी दलहरूबिच पार्टी एकता भएसँगै कर्णाली प्रदेश सभामा संसदीय दलमा पनि एकता भएको छ ।
दुई दलको बुधबार बसेको संयुक्त बैठकले कर्णाली प्रदेश सभा संसदीय दलमा एकता गर्ने निर्णय गरेको हो। माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार साबिकको माओवादी र समाजवादीबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरूको संयुक्त बैठकले दल एकीकरणसम्बन्धी निर्णय गरेको हो ।
बैठकले दल एकीकरण गर्ने पहिलो प्रस्ताव सर्वसम्मत पारित गर्दै अबदेखि प्रदेश सभामा ‘नेपाली कम्युनिस्ट पार्टी’ कर्णाली प्रदेश सभा संसदीय दलको रुपमा घोषणा गरिएको उनले बताए ।
यो एकतासँगै कर्णाली प्रदेश सभामा नयाँ गणित कायम भएको छ । कर्णालीमा माओवादी केन्द्रका १३ र समाजवादीका १ जना गरी अब एकीकृत दलको सदस्य संख्या १४ पुगेको छ । समाजवादीका तर्फबाट कल्याणी खड्का सांसद छिन् ।
यसैबिच, माओवादी केन्द्र संसदीय दलका नेता रहेका राजकुमार शर्माले बुधबार नै दलको नेताबाट राजीनामा दिएका छन् । तर, बैठकले उनीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
शर्माले राजीनामा दिइसकेको भए पनि उनी अर्को दलमा लागेको पुष्टि भएकाले उनलाई कर्णाली प्रदेश सभा सदस्यको हैसियतले ‘नेपाली कम्युनिस्ट पार्टी’ को दलको तर्फबाट नरहने गरी कारबाही गर्न पार्टीको केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय बैठकले गरेको जिसीले बताए । शर्मा नरहेपछि एकीकृत दलको सदस्य संख्या १३ नै कायम भएको छ ।
पदाधिकारी चयन नहुँदासम्मका लागि एकीकरण लगायतका निर्णय, आवश्यक समन्वय र दलको काम कारबाही सञ्चालन गर्ने जिम्मेवारी साबिकको माओवादी केन्द्रका प्रमुख सचेतक जिसीले नै पाएका छन् ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!