विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लामो समयदेखि साथ दिँदै आएका पुराना वामपन्थी नेता तथा मानवअधिकारकर्मी सुबोधराज प्याकुरेलले अध्यक्ष ओली र उनी वरपरको घेरामाथि तिखो टिप्पणी गरेका छन् । कुनै समय ओलीलाई मूल नेतृत्वमा स्थापित गर्न तीन दशक पर्दा पछाडि बसेर भूमिका खेलेका प्याकुरेलले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै ओलीका समर्थक र स्वयम ओलीको चरित्रमाथि प्रश्न उठाएका हुन् ।
प्याकुरेलले ओलीका अन्धभक्त र स्वार्थ समूहलाई ‘किर्ना’ को संज्ञा दिएका छन् । उनले ओलीको नाम बेचेर आफ्नो दुनो सोझ्याउने समूहले केपीको विकल्प छैन भन्दै जबरजस्ती गरिरहेको आरोप लगाएका छन् ।
आफ्नो स्टाटसमा प्याकुरेल निकै आक्रामक रूपमा प्रस्तुत भएका छन् । उनले लेखेका छन्, ‘निर्दयता र बचनको उल्टो चरित्रको प्रत्यक्ष प्रमाण हुन् केपी ओली।’ उनले ओलीलाई अब पनि सप्रिने अवसर दिनु भनेको उनीप्रतिकै अत्याचार हुने तर्क गरेका छन् । पौरख नभएका भक्तहरूले ओलीको नाम भजाएर जोरजुलुम गरिरहेको उनको निष्कर्ष छ ।
एउटा कालखण्डको नेतृत्व अर्को कालखण्डमा इतिहासको आदर्श मात्र बन्नुपर्ने भन्दै प्याकुरेलले ओलीलाई नेतृत्वको दाबीबाट पछि हट्न सुझाव दिएका छन् । उनले भनेका छन्, ‘त्यही नेतृत्वले आफ्नै निरन्तरताको दाबी गरिरह्यो भने उसको सुल्टो इतिहास कालखण्डमा उल्टो अभिलेख बन्न जान्छ।’
प्याकुरेलले ओलीले यो कुरा बुझेको आशा व्यक्त गर्दै अहिले ओलीले देखाइरहेको ‘ताहुरमाहुर’ (छटपटी र सक्रियता) लाई ती ‘किर्ना’ जस्ता चाटुकारहरूलाई शरीरबाट झार्ने प्रयासको रूपमा अर्थ्याएका छन्। ‘किर्ना जस्ता भक्त चाटुकार झार्न पनि शरीर टकटक्याउनु पर्छ, ताहुरमाहुर देखाउनुपर्छ। अहिले उनले गरिरहेको ढाँचा त्यही हो,’ प्याकुरेलले व्यंग्यात्मक शैलीमा लेखेका छन् ।
सुबोधराज प्याकुरेलको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनी एमालेभित्र ओलीका विश्वासपात्र मानिन्थे । मानवअधिकारकर्मीको छवि बनाएका प्याकुरेलले ओलीलाई पार्टी र सत्ताको नेतृत्वमा पुर्याउन लामो संघर्ष गरेका थिए । पछिल्लो समय एमाले नेतृत्वको कोशी प्रदेश सरकारले उनलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा समेत नियुक्त गरेको थियो ।
तर, हिजो ओलीको बचाउमा अग्रमोर्चामा देखिने उनै प्याकुरेलले आज ओलीलाई ‘बचनको उल्टो चरित्र’ भएको व्यक्तिको रूपमा चित्रण गर्नुले एमाले वृत्तमा तरंग पैदा गरेको छ। ओलीका अन्धभक्तहरूले उनलाई घेराबन्दीमा पारेको र त्यसले ओलीको इतिहास नै उल्टो लेखिन सक्ने चिन्ता प्याकुरेलको व्यक्र गरेका हुन् ।




अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!