काठमाडौँ । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले पार्टी नेतृत्वले आफ्नो सदस्यता नवीकरण रोकेको भन्दै असन्तुष्टि व्यक्त गरेकि छिन् । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नेतृत्वले अनुचित तरिकाले सदस्यता रोकेको बताइन ।
भण्डारीले दुई वर्षअघि नै विधानसम्मत रूपमा सदस्यता नवीकरण गरे पनि नेतृत्वले त्यसलाई रोकेको दाबी गरेकि छिन् । उनले लेखेकि छिन् ‘मैले दुई वर्षअघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईँहरूका साथ निरन्तर रहनेछु।’
आफ्नो भौतिक उपस्थिति नभए पनि आफू पार्टीको अभिन्न सदस्यका रूपमा सधैँ साथमा रहने उहाँले स्पष्ट पार्नुभएको छ। नेतृत्वप्रति असन्तुष्टि जाहेर गरे पनि पूर्वराष्ट्रपति भण्डारीले महाधिवेशन पूर्ण रूपमा सफल हुने विश्वास व्यक्त गरेकि छिन् । उनले विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ लैजान यो महाधिवेशन फलदायी हुने बताइन् ।
विशेष परिस्थितिका कारण निर्धारित समयभन्दा एक वर्षअघि नै हुन लागेको यस महाधिवेशनमा प्रतिनिधि छनोट गर्दा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता र ऊर्जाशील युवा पुस्ताको सन्तुलित प्रतिनिधित्वमा ध्यान दिन उनले पार्टी पङ्क्तिलाई आग्रह गरेकि छिन् ।
उनले एमालेलाई सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा चित्रण गर्दै महाधिवेशनले सामाजिक–आर्थिक रूपान्तरणका लागि सही नीति र नेतृत्व निर्माण गर्ने विश्वास व्यक्त गरेकि छिन् ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!