विराटनगर । विराटनगर आइतबार बिहान नेकपा एमालेका नेता महेश बस्नेत सवार गाडीमा बेलुनभित्र मसी भरेर प्रहार गर्ने दुई युवकलाई प्रहरीले अभिभावकको रोहबरमा छोडेको छ ।
विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा नेता बस्नेत र पूर्वमन्त्री भानुभक्त ढकालमाथि उनीहरुले रातो मसी प्रहार गरेका थिए । त्यसलगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा विराटनगर –१ का २५ वर्षीय संजोग गौतम र विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर थिए। उनीहरु दुवै जना नेपाली कांग्रेस निकट रहेको भएपनि जेनजी आन्दोलनयता सोही अभियानमा सक्रिय थिए । जेनजी अभियान्ता मोहम्मद जमशेद आलमले भर्खरै उनीहरुलाई प्रहरीले छोडेको बताए ।
काठमाडौँबाट विराटनगर आएका नेता बस्नेत र ढकाल इटहरीमा आयोजित युवा संघको जागरण सभा तथा जेनजी पुस्तासँग अन्तर–संवाद कार्यक्रममा सहभागी हुन आउदै थिए । उनीहरु विमानस्थलबाट बाहिरिँदै गर्दा गेटबाहिर रहेका युवाहरुले मसी भरिएको बेलुन प्रहार गरेका थिए । बेलुन बस्नेत सवार बा १७ च ५९६१ नम्बरको गाडीको सिसामा लागेको थियो ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!