एमाले नेतामाथि आक्रमण गर्नेलाई कारबाही नगरे प्रतिरोधमा उत्रने ‘नेसनल भोलिन्टियर्स’को चेतावनी

एमाले नेतामाथि आक्रमण गर्नेलाई कारबाही नगरे प्रतिरोधमा उत्रने ‘नेसनल भोलिन्टियर्स’को चेतावनी

विराटनगर । ‘नेसनल भोलिन्टियर्स फोर्स’ले नेकपा एमालेका नेताहरूमाथि भएका शृङ्खलाबद्ध आक्रमण र धम्कीका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। फोर्सले आज एक विज्ञप्ति जारी गर्दै अराजक गतिविधिमा संलग्नहरूलाई सरकारले तत्काल कारबाही नगरे परिस्थितिजन्य प्रतिरोधमा उत्रने चेतावनी दिएको छ।

फोर्सका प्रमुख कमान्डर पुष्पराज श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा पछिल्लो समय ‘जेन जी’ आन्दोलनको आवरणमा एमाले नेताहरूलाई निशाना बनाइएको उल्लेख छ।

विज्ञप्तिमा आइतबार विराटनगर एयरपोर्टबाट बाहिरिने क्रममा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि गाडीमा बेलुन प्रहार भएको जनाइएको छ । उक्त घटनाको निन्दा गर्दै घटनामा संलग्न नेपाल विद्यार्थी संघ (शेखर समूह) मोरङ क्याम्पस इकाइ सभापति सञ्जोग गौतम रहेको भोलेन्टियर्स फोर्सले जनाएको छ । पक्राउ परेका गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको उल्लेख गर्दै फोर्सले नेपाली कांग्रेसलाई निजमाथि आवश्यक कारबाही गर्न आग्रह गरेको छ। अन्यथा, जेन जीको आवरणमा हुने अराजकता स्वीकार्य नहुने फोर्सले स्पष्ट पारेको छ।

त्यस्तै, ‘जेन जी’ आन्दोलनका योजनाकार भनिएका सुदन गुरुङ लगायतको समूहले एमाले नेता तथा पूर्व मन्त्री किसान श्रेष्ठको जितपुर सिमरा–४, औराहास्थित घरमा पुगेर परिवारका सदस्य र कामदारलाई धम्काएको प्रति पनि फोर्सले आपत्ति जनाएको छ। श्रेष्ठ काठमाडौँमा रहेको समयमा घरमा पुगेर गुन्डागर्दी शैलीमा धम्की दिइएको विज्ञप्तिमा उल्लेख छ।

गत मङ्सिर ३ गते राष्ट्रिय युवा संघ बाराको कार्यक्रममा जाँदा एमाले महासचिव शंकर पोखरेललाई सिमरा विमानस्थलमा अवरोध पुर्‍याउन खोज्ने समूहको पनि फोर्सले विरोध गरेको छ। विमानस्थलको गेट भत्काउने र अराजकता फैलाउने कार्यमा संलग्न मुख्य योजनाकार सम्राट उपाध्याय खुलेआम हिँडिरहेको तर प्रहरीले उल्टै एमालेका वडाअध्यक्ष र युवा संघका नेताहरूलाई गिरफ्तार गरी झुटा मुद्दा लगाएको भन्दै फोर्सले घोर निन्दा गरेको छ।

विज्ञप्तिमा वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले अपराधीलाई कारबाही गर्नुको साटो संरक्षण गरेको आरोप लगाइएको छ। फोर्सले एमालेका निर्दोष कार्यकर्तालाई यथाशीघ्र रिहा गर्न र सुदन गुरुङ तथा सम्राट उपाध्याय लगायतलाई कारबाही गर्न माग गरेको छ। ‘सरकारले घटनाको संवेदनशीलता नबुझ्ने र अपराधीलाई उन्मुक्ति दिने हो भने परिस्थितिजन्य प्रतिरोधको जिम्मेवारी सरकारले नै लिनुपर्नेछ,’ फोर्सले भनेको छ ।

देश, जनता र पार्टी पङ्क्तिको सुरक्षाका लागि ‘जनताको सुरक्षा जनता मार्फत’ भन्ने उद्देश्यले स्थापित आफ्नो संगठन भएको भन्दै अब चुप लागेर नबस्ने फोर्सले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्