विराटनगर । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमाथि विराटनगरमा प्रदर्शनकारीले रातो रङ फ्याँकेर विरोध जनाएका छन् । आज बिहान विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा उनको गाडीलाई लक्षित गरी सांकेतिक रूपमा रङ प्रहार गरिएको हो ।
‘‘जेनजी’ समूहका प्रदर्शनकारीहरूले बस्नेतको विरोधमा नाराबाजीसमेत गरेका थिए । प्रहरीले गाडीमा रङ फ्याँकेको आरोपमा सन्जोग गौतम र अर्पित कुँवरलाई नियन्त्रणमा लिएको छ ।
नेता बस्नेत सुनसरीको इटहरीमा आयोजना गरिएको नेकपा एमालेको एक कार्यक्रममा सहभागी हुन आएका थिए । पछिल्लो समय ‘जेनजी’ समूहले मधेस प्रदेशका विभिन्न स्थानमा बस्नेतविरुद्ध विरोध प्रदर्शन गर्दै आएको छ । यसअघि बाराको सिमरामा पनि बस्नेत सहभागी हुने कार्यक्रमलाई लिएर जेनजी समूह र प्रहरीबीच झडप भएको थियो ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!