धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ का २५ वर्षीय सन्देश श्रेष्ठ सप्तरीमा १० क्विन्टल गाँजासहित पक्राउ परेका छन्।
बिहीबार राति ९ सय ७८ किलो गाँजा ना ५ ख ५३५ नम्बरको ट्रकमा लोड गरी पूर्व–पश्चिम लोकमार्गको फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको अवस्थामा जिल्लाको कंचनरुप नगरपालिका–२ बरमझियामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर पुरीका अनुसार डीएसपी डम्बरबहादुर पुरी र डीएसपी काफ्लेको नेतृत्वमा खटिएको संयुक्त टोलीले २८ बोराभित्र प्लास्टिकले प्याक गरिएको अवस्थामा गाँजा बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि पनि जिल्लामा ठूलो परिमाणमा गाँजा बरामद हुँदै आएको छ। साउन ४ र २३ गते गरी करिब ८ क्विन्टल गाँजा प्रहरीले नियन्त्रणमा लिएको थियो।
डाक्नेश्वरी नगरपालिका–५ महादेवा टोलबाट ३ सय ९६.९ किलो र राजगढ गाउँपालिका–३ नर्घो पछ्वारी टोलका रेखाकुमारी मण्डलको घरबाट ३ सय ८८.७३ किलो गाँजा बरामद गरिएको मधेस प्रहरी कार्यालय जनकपुरले जनाएको छ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!