बारा । बाराको सिमरामा दुई दिनअगाडि घटेको घटनाका कारण उत्पन्न तनावपूर्ण परिस्थितिलाई साम्य पार्न जिल्ला प्रशासन कार्यालय र आन्दोलित युवा समूह जेनजीबिच शुक्रबार भएको वार्ता सफल भएको छ।
पथलैयास्थित सशस्त्र प्रहरी बल नेपालको प्राविधिक तालिम शिक्षालयमा आयोजित उच्चस्तरीय छलफलमा दुवै पक्षले संयमता अपनाउँदै समस्याको दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता जनाएका छन्।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको विशेष पहलमा सम्पन्न उक्त वार्तामा प्रशासन र जेनजी पक्षबीच मुख्यतया तीनवटा बुँदामा ठोस सहमति जुटेको छ। प्रजिअ मिश्रका अनुसार पहिलो प्राथमिकताका रूपमा जेनजी समुदायको सुरक्षा व्यवस्थालाई थप सुदृढ र विश्वसनीय बनाउने सहमति भएको छ।
दोस्रो, उक्त घटनामा परी घाइते भएका व्यक्तिहरूको उपचारमा प्रशासनले आवश्यक समन्वय र सहयोग गर्ने निर्णय गरिएको छ। तेस्रो र सबैभन्दा महत्त्वपूर्ण विषय, घटनाको निष्पक्ष एवं स्वतन्त्र छानबिन गरी दोषी देखिएकाहरूमाथि विनाकुनै राजनीतिक दबाब वा पूर्वाग्रह कडा कानुनी कारबाही अघि बढाउने विषयमा दुवै पक्ष एकमत भएका छन्।
वार्ताका क्रममा सहभागी जेनजी समुदायका अगुवाहरूले घटनापश्चात् आफूहरू असुरक्षित महसुस गरेको गुनासो पोखेका थिए। विभिन्न अज्ञात पक्षबाट फोन तथा अन्य माध्यमबाट निरन्तर धम्की आइरहेको जानकारी गराउँदै उनीहरूले प्रशासनसमक्ष ज्यानको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गरेका थिए। साथै, घटनामा संलग्न मुख्य दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउनुपर्ने जेनजीहरूको प्रमुख माग रहेको थियो।
प्रहरी प्रशासनले दिएको जानकारी अनुसार, सो घटनामा संलग्न रहेको भन्दै पीडित पक्षबाट ९ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ। जसमध्ये प्रहरीले तदारुकता देखाउँदै ३ जना आरोपितलाई पक्राउ गरिसकेको छ भने बाँकी ६ जना अझै फरार अवस्थामा रहेका छन्।
फरार प्रतिवादीहरूलाई लुकिछिपी बसेको स्थानबाट तुरुन्तै पक्राउ गर्न सुरक्षा संयन्त्र परिचालन गरिसकिएको र मातहतका निकायलाई कडा निर्देशन दिइएको प्रजिअ मिश्रले वार्ताका दौरान नै स्पष्ट पार्नुभयो।
प्रशासनले जेनजीहरूलाई कतैबाट पनि धम्की वा त्रास देखाइएको खण्डमा तुरुन्तै प्रहरी वा प्रशासनलाई खबर गर्न आग्रह गरेको छ। सूचना प्राप्त हुनासाथ प्रहरीले तत्काल आवश्यक प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता प्रशासनले व्यक्त गरेको छ। शुक्रबारको यो सफल वार्तासँगै दुवै पक्ष घटनाको समाधानतर्फ उन्मुख हुने र सिमराको जनजीवन सामान्य बन्ने अपेक्षा गरिएको छ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!