अपहरण र हत्या घटनाको सफल अनुसन्धान गर्ने इन्स्पेक्टर केसी बने ‘कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी’

अपहरण र हत्या घटनाको सफल अनुसन्धान गर्ने इन्स्पेक्टर केसी बने ‘कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी’

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले झापाको इलाका प्रहरी कार्यालय झिलझिलेमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास केसीलाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ।

विभागीय मूल्य–मान्यता र आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबलका साथ जघन्य अपराधको सफल अनुसन्धान र शान्ति सुरक्षा कायम गर्न उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै केसीलाई यो उपाधि प्रदान गरिएको हो।

प्रहरी निरीक्षक केसी कार्तिक महिनामा झापामा भएको एक चर्चित र संवेदनशील अपहरण तथा हत्या काण्डको अनुसन्धानमा खटिएका थिए। कार्तिक ९ गते झापाको अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडा सामुदायिक वनबाट शिवसताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्मा अपहरणमा परेका थिए । उक्त अपहरण तथा शरीर बन्धक र ज्यान सम्बन्धी कसुरको अनुसन्धानका क्रममा इन्स्पेक्टर केसीले शंकास्पद व्यक्तिहरूको पहिचान गरी सुक्ष्म निगरानी बढाएका थिए ।

केसीको कमाण्डमा खटिएको टोलीले कार्तिक १३ गते मेचीनगर नगरपालिका–१३ स्थित सामुदायिक वनमा मृतक शर्माले प्रयोग गरेको गाडी जलाएको अवस्थामा फेला पारेको थियो। गाडी फेला परेको सुराग र प्राविधिक अनुसन्धानका आधारमा केसीले घटनामा संलग्न मुख्य अभियुक्तहरूलाई पक्राउ गर्न सफल भए।

अभियुक्तहरूको बयान र अनुसन्धानका आधारमा प्रहरीले हत्या गरेर गाडेको अवस्थामा मृतक सरोज शर्माको शव उत्खनन गरी निकाल्न सफल भएको थियो। यो घटनाको पर्दाफास गर्न इन्स्पेक्टर केसीको भूमिका निर्णायक मानिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्