दलहरूले माफी माग्दै नयाँ निर्वाचनमा जानुपर्छ : महेश आचार्य

दलहरूले माफी माग्दै नयाँ निर्वाचनमा जानुपर्छ : महेश आचार्य

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यले मुलुकको राज्य संयन्त्र पूर्ण रूपमा असफल र निष्प्रभावी भइसकेको टिप्पणी गरेका छन्। विराटनगरमा एलिट क्लवले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता आचार्यले अबको एक मात्र विकल्प ताजा जनादेश (नयाँ निर्वाचन) भएको बताएका हुन्।

राजनीतिक दल र नेतृत्वले समयमै गल्ती स्वीकार नगरे देश असफल राष्ट्र बन्ने खतरा औंल्याउँदै उनले दलहरूले जनतासँग माफी मागेर नयाँ सिराबाट अघि बढ्नुपर्नेमा जोड दिए। नेता आचार्यले पछिल्लो जेनजी आन्दोलन र घटनाक्रमले राज्यको ‘चेन अफ कमान्ड’ ध्वस्त भएको पुष्टि गरेको बताए। उनले भने, ‘राज्य संयन्त्रले दिशा गुमाएको छ। जेनजी आन्दोलनमा देखिएको आक्रोशका क्रममा देशको प्रधानमन्त्रीले असुरक्षित महसुस गर्दै हेलिकप्टरबाट भाग्नुपर्ने र २४ घण्टासम्म राष्ट्र प्रमुख (राष्ट्रपति) कहाँ हुनुहुन्छ भन्ने अत्तोपत्तो नहुने स्थिति देखियो। यो सामान्य घटना होइन, यो राज्य संरचना कोल्याप्स भएको संकेत हो।’

जिल्ला–जिल्लामा प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरू निरीह बनेको, प्रहरीले कानुन कार्यान्वयन गर्न नसकेको र प्रशासन यन्त्र पक्षघातको अवस्थामा पुगेको उनको विश्लेषण छ। ‘दुई दिन अगाडिदेखि बारामा भएको एउटा घटनामा प्रहरी भागिरहेको छ, युवाहरू ढुंगा हानिरहेका छन्। राज्यका अंगहरूले यसरी आफ्नो काम गर्न नसक्नु भनेको डिसफंक्सनल स्टेटको लक्षण हो,’ आचार्यले भने।

उनले सडकमा देखिएको आक्रोशलाई नयाँ पुस्ताको नैसर्गिक विद्रोहको रूपमा व्याख्या गरे। डिजिटल युगमा हुर्केको यो पुस्ता र परम्परागत राजनीतिक नेतृत्वबीच ठूलो खाडल रहेको उनले औंल्याए। ‘हाम्रा छोरा–नाति पुस्ताले दिनको ७ घण्टा मोबाइलमा बिताउँछन्। उनीहरूले संसार देखिसके, तर नेपालमा भविष्य देख्दैनन्,’ आचार्यले भने, ‘उनीहरूको विचार बन्ने प्रक्रिया हाम्रा बाबुबाजेको पालाको जस्तो छैन। उनीहरूमा चरम निराशा छ। ३०–४० लाख युवा विदेशिनु र बाँकी रहेकाहरू पनि आक्रोशित हुनुले हाम्रो प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ ।’

उनले पुराना नेताहरूलाई महाभारतका भीष्म पितामहसँग तुलना गर्दै अब सम्मानजनक विश्राम लिन आग्रह गरे। ‘समय घर्किसक्यो, अब नयाँ पुस्तालाई स्पेस दिनुस्। नत्र इतिहासले निर्मम समीक्षा गर्नेछ,’ उनले भने।

पूर्व अर्थमन्त्री समेत रहेका आचार्यले नेपालको परराष्ट्र सम्बन्ध र आर्थिक कूटनीति व्यक्तिको लहडमा चलिरहेको भन्दै चिन्ता व्यक्त गरे। उनले भने, ‘कहिले उत्तर तर्फ ढल्कने, कहिले दक्षिणतर्फ लम्पसार पर्ने अस्थिर चरित्रले हाम्रो अन्तर्राष्ट्रिय विश्वसनीयता गुमेको छ।’

नेपालमा लगानीको वातावरण बन्न नसक्नुमा अस्थिर राजनीति र अपरिपक्व कूटनीति जिम्मेवार रहेको उनको भनाइ थियो। ‘निजी क्षेत्रलाई तर्साएर र नाफा कमाउनुलाई अपराध जस्तो मानेर अर्थतन्त्र बन्दैन। जबसम्म वैदेशिक लगानीकर्ताले यहाँ नीतिगत स्थिरता देख्दैनन्, तबसम्म समृद्धि केवल भाषणमा सीमित हुन्छ,’ उनले थपे।

आचार्यले चुनावअघि गरिने गठबन्धन र सत्ता स्वार्थका लागि गरिने अप्राकृतिक समीकरणले संसदीय व्यवस्थालाई नै विकृत बनाएको बताए। ‘कहिले को उचाल्ने, कहिले को पछार्ने खेलमा दलहरू लागे। एमाले, माओवादी वा कांग्रेस—कुनै पनि दलको नेतृत्वले राजनीतिक इमानदारिता देखाउन सकेनन्,’ उनले भने।

वर्तमान संसदले निकास दिन नसक्ने भन्दै उनले भने, ‘यो संसद अब समस्याको समाधान होइन, आफैं समस्या बनेको छ। गणित मिलाएर बन्ने सरकारले जनताको निराशा चिर्न सक्दैन।’

देशलाई मुठभेडबाट जोगाउन र लोकतान्त्रिक प्रणालीलाई पुनः सुचारु गर्न दलहरूले प्रायश्चित गर्नुपर्ने आचार्यको सुझाव छ। ‘दलहरूले जनताका अगाडि उभिएर भन्नुपर्छ— हामीबाट गल्ती भयो, हामी सुध्रिन तयार छौं,’ आचार्यले प्रस्ताव राखे, ‘अब निर्वाचनले मात्र राजनीतिक कोर्स करेक्सन गर्न सक्छ।’

उनले कांग्रेस, कम्युनिष्ट र नयाँ दलहरू सबैले अब आफ्नो कार्यशैली नफेरे जनताले विकल्प खोज्ने चेतावनी समेत दिए। ‘नागरिक चेतना धेरै माथि पुगिसक्यो, अब पुरानो ढर्राले र आश्वासनले देश चल्दैन,’ आचार्यले निष्कर्ष सुनाए।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्