काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ३७ वटा राजनीतिक दल दर्ता भएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने प्रक्रिया जारी रहेको र राष्ट्रियसभाका लागि ७ वटा दलले निवेदन दिएको जानकारी दिए ।
आयोगमा हालसम्म कुल १२६ वटा दल दर्ता भएका छन् भने ३० दल दर्ता प्रक्रियामा रहेका छन् ।
यसैबीच, आयोगले मतदाता नामावली अद्यावधिक गर्ने कार्यतालिका पनि सार्वजनिक गरेको छ । जसअनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकले मतदान गर्न पाउने गरी निर्दिष्ट समय तोकिएको छ । आयोगले फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताहरूको प्रारम्भिक नामावली यही मङ्सिर २० गते आफ्नो वेबसाइटमा प्रकाशन गर्नेछ ।
प्रकाशित नामावलीमा कुनै त्रुटि भएमा वा त्यसमाथि कुनै उजुरी भएमा मङ्सिर २१ देखि २७ गतेसम्म सच्याउनका लागि निवेदन दिन सकिनेछ । सम्पूर्ण विवरणहरू अद्यावधिक र छानबिन गरी आगामी पुस १५ गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिने प्रवक्ता भट्टराईले बताए ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!