विराटनगर । अलैंची निर्यातमा किसानबाट खरिद गरेको मूल्य भन्दा ६० प्रतिशत कमले अण्डिर बिलिङ हुने गरेको तथ्य पाइएको छ । जसले करोडौंको आय कर छलि मात्रै नभएर अरबौं रुपैयाँ अवैध तरिकाले हुण्डि मार्फत रकम नेपाल भित्रने गरेको तथ्यले देखाउँछ ।
आर्थिक वर्ष २०८१–८२ मा ७ अर्ब ६८ करोड ३७ लाख ६ हजार रुपैयाँ बराबरको ४ हजार ३ सय टन अलैंची निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । जुन प्रतिकिलो अलैंचीको मूल्य १ हजार ७८६ रुपैयाँ हुन्छ । गत वर्ष किसानले यही मूल्य अनुसार अलैंचीको मूल्य पनि पाएका थिए ।
चालू आर्थिक वर्षको असोजसम्ममा मात्रै १ हजार ७२ टन अलैंची भारत निर्यात भएको छ । जसको मूल्य १ अर्ब ६७ करोड ९१ लाख ५७ हजार रुपैयाँ रहेको छ । जसको मूल्य प्रतिकिलो १ हजार ५६६ रुपैयाँ पर्छ । किसानले भने यस वर्ष अलैंचीको मूल्य प्रतिमन ९० हजारदेखि १ लाख ७ हजारसम्म पाएका छन् ।
कोशी प्रदेश अलैंची उत्पादनको पकेट क्षेत्र हो । कोशीका पहाडी जिल्लाका खोल्सा तथा चिस्यान जमिनमा अलैंची लगाउने चलन बढ्दो छ । खोटाङको खोटेहाङ गाउपालिका वडा नम्बर ३ का वडाध्यक्ष जेफर राईले यो वर्ष करिब ४० मन अलैँची फलाए ।
उनलाई व्यापारीले प्रतिमन (४० किलो)को मूल्य ९२ हजारले विक्री गरे । उनलाई व्यापारीले सो मूल्य बराबरको चेक दिए । ताप्लेजुङका अलैंची किसान प्रताप तामाङले फलाएको १६ मन अलैंचीको मूल्य प्रतिमन १ लाख ५ हजार रुपैयाँ पाए । यो वर्ष अलैंचीको मूल्य पाएपछि किसान हर्षित छन् । तर, व्यापारीले भारत निकासी गर्दा भने भन्सार मूल्य आधा मात्रै देखाउने गरेको तथ्याङ्कले देखाएको छ ।
यो तथ्याङ्कलाई हेर्दा निर्यात रकममा नै गडबडी देखिएको छ । यस्तै नेपालका किसानबाट औसतमा १ लाख रुपैयाँ प्रतिमनमा खरिद भएको अलैंची भारतका व्यापारीले कतिमा खरिद गर्छन् ? यो विषय शङ्कास्पद देखिएको छ ।
एक अलैंची व्यापारीका अनुसार भारतीय व्यापारीले नेपालमा दिएको मूल्य अनुसारको बिल लिन नमान्दा कम बिलिङ गर्नुपर्ने अवस्था आएको हो । ‘हामीले किसानलाई दिएको मूल्य अनुसारको बिलबाट भारतीय व्यपारीले लिन मान्दैनन् । यो भारतीय भन्सारको कारण हो,’ उनी भन्छन्, ‘त्यसकारण हामी कम बिल बनाउन बाध्य छौं ।’
उनले भन्सारमा कम मूल्य देखाए पनि रकम भने प्रतिमन १ लाख २० हजार भन्दा बढीले भारतीय व्यापारीले खरिद गर्छन् । अब प्रश्न उठ्छ त्यो पैसा कुन बाटोबाट आउँछ ? ती व्यापारी भन्छन्, ‘यो त अनौपचारिक हिसावले आउँछ । हामीले सबै भन्ने कुरा भएन ।’ उनले हुण्डिमार्फत उक्त रकम आउने गरेको घुमाउरो पारामा स्वीकार गरे ।
उता, राजस्व अनुसन्धान भन्सार विभाग तथा नियामक निकायले यो विषयमा अनुसन्धान गरेका छैनन् । कृषि जन्य वस्तु उत्पादक किसानलाई आयकर लिने गरिएको छैन । निर्यातमा कर लाग्दैन । बजारमा खरिद विक्री गर्ने दुवै पक्षलाई भने २५ देखि ३० प्रतिशत आयकर निर्धारण गरिएको छ । तर, अण्डर बिलिङ गरेपछि उक्त आयकर छलि हुने गरेको नियामक निकायकै एक कार्यालय प्रमुखको दाबी छ । ‘आय कर छलि गर्नका लागि पनि नेपाली ब्यापारीले बिलिङ कम गर्ने गरेको सूचना हामीलाई छ,’ उनी भन्छन्, ‘त्यसले आय कर मात्रै छलि भएको छैन । अनौपचारिक क्षेत्रबाट पैसा आउने काम भइरहेको छ भने नेपालमा प्रतिबन्धित भारतीय नोट ५ सय, १ हजार र २ हजारका नेपालमा फेला पर्न थालेका छन् ।’
अलैंची सबैभन्दा बढी निर्यात हुने नाका झापाको काँकडभिट्टा नाका हो । केही दिन अगाडि काँकडभिट्टाबाटै अवैध भारतीय नोटहरुको कारोबार गर्ने मुद्रा सटही काउण्टरका संचालक पक्राउ परेका थिए । त्यसको कनेक्सन अलैंची कारोबारी व्यवसायीसम्म पुगेको दाबी गरिएको छ ।
राजस्व अनुसन्धान कार्यालय इटहरीका एक अनुसन्धान अधिकृतले यो विषयमा आफूहरुको ध्यान जान नसकेको बताए । ‘हामी अब अनुसन्धानमा लाग्छौं,’ उनले भने, ‘तपाईले भनेजस्तै अरबौंको निर्यात हुने र त्यो अण्डर बिलिङमा हुने समस्या हो भने अनुसन्धानको विषय पनि हुनुपर्छ । त्यसले अर्थतन्त्रमा ठूलो समस्या ल्याउन सक्छ ।’
विश्वमा निर्यात हुने अलैंचीमध्ये ६० प्रतिशत नेपालले धानेको छ । नेपालमा उत्पादित ९९ प्रतिशत अलैंची भारत निर्यात हुन्छ । १ प्रतिशत अलैंची तेस्रो मुलुकमा निर्यात भएको गत वर्षको तथ्याङ्कले देखाउँछ । आन्तरिक खपतको प्रतिशत भने शून्य बराबर रहेको व्यवसायी बताउँछन् । नेपालबाट भारतसहित अष्ट्रेलिया, फ्रान्स, स्वीजरल्याण्ड र युएइमा अलैंची निर्यात हुने गरेको छ । चालू आर्थिक वर्षको असोजसम्ममा भने शत प्रतिशत अलैंची निर्यात भारत भएको छ ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!