विराट एक्स्पोमा कृषिको स्टलमा भीड

विराटनगर। विराटनगर–२ स्थित शंकरपुरमा जारी विराट एक्स्पोमा कृषिका स्टलहरूमा राखिएका नौला उत्पादनहरूमा उपभोक्ताले रुची देखाएका छन् ।

उद्योठ संगठनले आयोजना गरेको एक्स्पोमा राखिएका एबोकाडो, खरायो, अर्गानिक तरकारी, चियालगायतका कृषि उपजमा उपभोक्ताको आकर्षण देखिएको छ । खरायो हेर्न र पालन गर्न आउनेहरू धेरै रहेको उदयपुरबाट खरायोको स्टल लिएर आएका हेमन्त भण्डारीले बताए । विशेषगरी खरायो मासुका लागि पालन गरिने भए पनि नेपालमा खरायोको मासुका फाइदाका विषयमा उपभोक्तालाई ज्ञान नहुँदा खरायोलाई सौन्दर्यका लागि मात्रै पाल्ने चलन रहेको उनले बताए । विगत एक वर्षदेखि व्यवसायिक रुपमा खरायो पालन गर्दै आएका भण्डारीले खरायो पालनबाट राम्रो आमदानी गर्न सकिने संभावना रहेको बताए ।

खरायोमा मात्रै हैन चियाका स्टलमा पनि उपभोक्ताको रुचि उत्तिकै छ । विशेषगरी ग्रीन टीका विषयमा उपभोक्ताको धेरै चासो देखिएको विराटनगरका व्यवसायी समिर आचार्यले बताए । आचार्यका अनुसार ग्रीन टीका थुप्रै फाइदा रहेकाले पनि उपभोक्तालाई ग्रीन टीका विषयमा जानकारी दिनु आवश्यक रहेको बताए । धनकुटाबाट ल्याइएको एबोकाडो किन्न उपभोक्ताले हानाथाप नै गरेको व्यवसायी हर्क राईले बताए । उनले प्रदर्शनीका लागि ल्याएको एबोकाडो बिक्रि भइसकेको छ । एबोकाडोको माग धेरै भए पनि आफूसँग बिक्रिका लागि थप एवोकाडो नभएको उनले बताए ।

मोरङको सिंहदेवीका चिया उद्योगी नारायण राईका अनुसार अर्गानिक, चिया र तरकारीको बारे जान्न र बुझ्न आउनेको धेरै भीड रहेको छ ।

एक्स्पोमा कृषिका नयाँ उत्पादन हेर्न मात्रै नभई स्वस्थ्यका लागि उपयोगी ज्ञानसमेत पाइएको उपभोक्ता शम्भु राजवंशीले बताए । यता एक्स्पोमा राखिएका कृषिजन्य उपजका स्टलहरूमा उपभोक्ताको रुचि देखिएको प्रचार समिति संयोजक नन्दकिशोर राठीले बताए । विशेषगरी नयाँ खालका एबोकाडो, किवीलगायतका कृषि उपजमा उपभोक्ताको रुची देखिएको छ । राठीले हालसम्म ५ करोड बढीको कारोबार भइसकको र दैनिक २० हजार बढीले एक्स्पोको अबलोकन गर्दै आएको बताए ।

 

बुधबार, ०७ फागुन, २०७६, दिउँसोको ०२:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर