धरान । त्रिभुवन विश्वविद्यालयले सुनसरीकोक धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसलाई दिने नियमित अनुदानमा भारी कटौती गरेको छ ।
यो वर्ष १ करोड ३३ लाख रुपैयाँ कटौती भएपछि क्याम्पस दबाबमा परेको छ । तर, क्याम्पसको विद्यार्थी शुल्कबाट हुने आम्दानी भने झन्डै १ करोड रुपैयाँ बढ्ने अनुमान गरिएको छ ।
क्याम्पस सञ्चालक समितिको कात्तिक १५ गते बसेको बैठकमा प्रस्तुत बजेट अनुसार गत आर्थिक वर्ष २०८१–८२ मा क्याम्पसले त्रिविबाट ७ करोड १४ लाख रुपैयाँ अनुदान पाएको थियो । तर, चालु आर्थिक वर्ष २०८२–८३ मा यो रकम घटेर ५ करोड ८ लाख रुपैयाँ मात्र पुगेको छ ।
अनुदानमा कटौती हुँदा क्याम्पसको कुल आय गत वर्षको तुलनामा करिब १ करोड रुपैयाँ कम हुने अनुमान छ । गत वर्ष क्याम्पसको कुल आय ११ करोड ८९ लाख रुपैयाँ थियो भने यो वर्ष झरेर १० करोड ८९ लाख रुपैयाँ रहनेछ ।
यसैबीच विद्यार्थी शुल्कबाट हुने आम्दानी भने बढ्ने देखिएको छ । गत वर्ष ४ करोड ७५ लाख रुपैयाँ राजश्व उठेकोमा यो वर्ष ५ करोड ८९ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । चालु बजेटमा शिक्षण तलबका शीर्षकमा खर्च बढाइएको छ । गत वर्ष ३ करोड ६१ लाख खर्च भएकोमा यो वर्ष ३ करोड ७३ लाख विनियोजन भएको छ । अतिरिक्त तलब, प्रशासन खर्च तथा परीक्षा सञ्चालन शीर्षकमा कटौती गरिएको छ ।
क्याम्पस प्रमुख वसन्तकुमार राईका अनुसार त्रिविको अनुदान मुख्यतया शिक्षक–प्राध्यापकका तलब, सञ्चय कोष र उपादान निवृत्तिभरणमा खर्च हुन्छ । अनुदान कटौती हुँदा शिक्षण कार्यक्रम सीधै प्रभावित हुने र सञ्चालन खर्च धान्न आन्तरिक श्रोतमा थप भार पर्ने उनले बताए ।
क्याम्पसले माग गरेको भन्दा १ करोड ५४ लाख रुपैयाँ कम बजेट यसपटक त्रिविले छुट्याएको हो । क्याम्पसका अनुसार कोशी प्रदेश सरकारले नयाँ प्रशासकीय भवन निर्माणका लागि ठेक्का लगाइसकेको छ, त्यसैले निर्माण खर्च चालु बजेटमा समावेश गरिएको छैन । वैज्ञानिक तथा शैक्षिक उपकरणको बजेट ७ लाखबाट बढाएर २५ लाख रुपैयाँ पुर्याइएको छ ।
स्वायत्ततामा गएको संस्थानका रूपमा केन्द्रीय प्रविधि क्याम्पस त्रिविको आङ्गिक क्याम्पसहरूमध्ये विकास र व्यवस्थापनमा अग्रस्थानमा मानिन्छ । विश्वविद्यालयले स्वायत्ततासँगै सहमति गरिएका व्यवस्थानहरू पूरा नगरेको क्याम्पस प्रशासनको गुनासो छ ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!