काठमाडौं— राष्ट्रहितविरुद्ध अभिव्यक्ति दिएको आरोपमा दुर्गा प्रसाईं पक्राउ परेकै दिन उनका नजिकका सहयोगी तथा व्यक्तिगत सुरक्षा गार्ड दीपक खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार खड्कालाई बुधबार नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। मंसिर २ गते बिहानदेखि प्रहरी हिरासतमा रहेका प्रसाईंविरुद्धको अभिव्यक्तिसम्बन्धी अनुसन्धानकै क्रममा खड्काको भूमिकाबारे पनि छानबिन सुरु भएको बताइएको छ।
झापा जिल्लाको बुद्धशान्ति–३ घर भएका खड्का यसअघि पनि कानून उल्लङ्घनका घटनामा परेका थिए। २०८० चैत ५ गते सर्वोच्च अदालत परिसरबाट ‘इजाजत दिन नमिल्ने’ प्रकृतिको हतियारसहित पक्राउ परेका उनी तीनकुने कुटपिट प्रकरणमा समेत पक्राउ परेर धरौटीमा छुटेका थिए।
प्रसाईंको गतिविधि र सुरक्षा व्यवस्थापनमा नजिकबाट संलग्न मानिने खड्कालाई पक्राउ गरेसँगै दुवैजनामाथि प्रहरीले थप अनुसन्धान सुरू गरेको छ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!