विराटनगर । फागुन २१ गते हुने निर्वाचनको लागि सेना परिचालन गर्न सिफारिस गर्ने राष्ट्रिय सुरक्षा परिषद्को ४१ औँ बैठकको निर्णयपछि जारी वक्तव्य त्रुटिपूर्ण देखिएको छ।
बिहिबार जारी गरिएको वक्तव्यमै गम्भीर गल्ती भेटिएपछि परिषद् सचिवालयको तयारी तथा दस्तावेज व्यवस्थापनप्रति प्रश्न उठेको छ।
बाराको सिमरामा उत्पन्न तनावबीच बिहीबार बसेको परिषद्को बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन मन्त्रिपरिषद्लाई सेना परिचालनको सिफारिस गर्ने निर्णय गरेको थियो। तर, बैठकका निर्णयहरू उल्लेख गरिएको वक्तव्यमै दुई त्रुटि भेटिएको हो ।
पहिलो, मिति राख्ने स्थानमा वर्ष–महिना कम्प्युटरमा टाइप गरिएको छ भने ‘गते’ भने हातले लेखिएको छ। मितिमा २०८१।०८ कम्प्युटरबाट टाइप गरिएको छ भने ४ हातैले लेखिएको छ । जसले या त पत्र हतारमा तयार गरिएको थियो वा पहिले नै तयार गरिएको कागजमा मिति मिलाएर चाँडोछिटो पठाइयो भन्ने संकेत गर्छ।
दोस्रो, वक्तव्यको सुरुमै ‘राष्ट्रिय सुरक्षा परिषद्को ४१ औँ बैठक २०८१/०८/०४ गते बसेको’ उल्लेख गरिएको छ, जबकि बैठक बिहिबार अर्थात् २०८२/०८/०४ मा बसेको थियो। प्रधानमन्त्रीदेखि सुरक्षा निकायका शीर्ष पदाधिकारी उपस्थित रहने यस्ता संवेदनशील बैठकको निर्णय कागजमा यस्तो गल्ती हुनु सचिव सुमनराज अर्यालको गम्भीर लापरबाहीका रूपमा हेरिएको छ।
प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो। बैठकमा राष्ट्रिय सुरक्षा जोखिम, पछिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम तथा आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको थियो।
त्यस्तै, आ.व. ०८१/८२ को आठौँ वार्षिक प्रतिवेदन मस्यौदामा आवश्यक संशोधन गर्दै राष्ट्रपति समक्ष पेश गर्ने निर्णय पनि बैठकले गरेको छ। संवेदनशील विषयमा तयार गरिएको वक्तव्यमै देखिएको वर्ष–मिति गडबडीले परिषद् सचिवालयको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!