लुम्बिनीको नेपाल प्रिमियर लिगमा विजयी सुरुवात

लुम्बिनीको नेपाल प्रिमियर लिगमा विजयी सुरुवात

काठमाडौँ । कप्तान रोहित पौडेल र अफगानिस्तानका अलराउण्डर गुलबदिन नैबको उत्कृष्ट साझेदारीमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्‍यो ।

चितवनले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य लुम्बिनीले ९ बल अगाडि नै ४ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको यो पहिलो खेलमा पहिलो जित हो । यसअघि आफ्नो पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो ।

लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका लागि कप्तान पौडेल र नैबले चौथो विकेटका लागि ४१ बलमा अविजित ६० रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए । पौडेलले ४४ बलमा १ चौकासहित ३९ रन बनाए । आक्रामक ब्याटिङ गरेका नैबले २४ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४४ रनको महत्त्वपूर्ण इनिङ्स खेले । जेजे स्मिटले विजयी चौका प्रहार गर्दै ४ रनमा अविजित रहे ।

त्यसअघि लुम्बिनीका ओपनर डी’आर शट ११ रनमा र सन्दीप जोरा २८ रनमा आउट भएका थिए । जोराले १८ बलमा ४ चौका प्रहार गरे । दीलिप नाथ १० रनमा रनआउटको शिकार भए । चितवनका लागि रिजन ढकालले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए भने सोहेल तान्बिरले १ विकेट हात पारे ।

गत वर्षको संस्करणमा पुछारमा रहेको लुम्बिनीले ७ मध्ये ६ खेल हार्दा एकमात्र जित चितवनविरुद्ध नै हात पारेको थियो । त्यस खेलमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान रोहितले बिहीबार पनि आफ्नो लयलाई निरन्तरता दिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्