काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेना परिचालन गर्न सरकारसमक्ष सिफारिस गरेको छ। बिहीबार सिंहदरबारमा बसेको परिषद्को बैठकले निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन आवश्यक रहेको निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो।
परिषद्का सदस्यसचिव तथा रक्षा सचिव सुमनराज अर्यालका अनुसार, बैठकमा निर्वाचन सुरक्षाबारे विस्तृत छलफल भएको थियो। उनले भने, “संविधानले दिएको अधिकार प्रयोग गरी आगामी निर्वाचनमा सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय भएको छ।”
नेपालको संवैधानिक व्यवस्था अनुसार, सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्ले सेना परिचालनको निर्णय गरी स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गर्दछ। राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएपछि सेना परिचालनको प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ।
यो सिफारिस गर्नुअघि गत शुक्रबार बसेको राष्ट्रिय सुरक्षा समितिले निर्वाचनमा सेना परिचालनका लागि रक्षा मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको थियो। सोही पत्रमाथि बिहीबारको परिषद् बैठकमा छलफल भई औपचारिक सिफारिसको निर्णय गरिएको हो।
बाराको तनावबारे पनि परिषद्मा छलफल
यसैबीच, बिहीबारको बैठकमा बाराको सिमरा क्षेत्रमा उत्पन्न तनावपूर्ण स्थितिबारे पनि छलफल भएको छ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सहभागी हुने कार्यक्रमलाई लिएर बुधबारदेखि सुरु भएको तनाव अझै साम्य हुन सकेको छैन।
विवादका क्रममा प्रदर्शनकारी युवाहरूले सिमरा विमानस्थलमा तोडफोडसमेत गरेका थिए, जसका कारण स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। बुधबारदेखि जारी कर्फ्युलाई बिहीबार राति ८ बजेसम्मका लागि लम्ब्याइएको छ। उक्त क्षेत्रको सुरक्षा अवस्थालाई सामान्य बनाउने विषयमा पनि परिषद्मा छलफल भएको बताइएको छ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!